काठमाडौं । सेयर बजार सुरुवाती बढाइबाट पनि तल ओर्लिएको अवस्थालाई सामान्य मान्न सकिँदैन । यस्तो ट्रेन्ड सेयर बजारले विरलै समाउँछ । तर, मंगलबार यस्तै ट्रेन्ड समाएर सुरुवाती बिन्दुबाट पनि सेयर बजार तल झरेर सूचक बन्द भएको छ ।
यदि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस्तो ट्रेन्ड समायो भने बजार अझै घट्नेतर्फ संकेत गर्छ । मंगलबार कारोबार खुल्दा २८७७.५८ बिन्दुमा नेप्से थियो । तर, बजार बन्द हुँदा त्यो भन्दा पनि तल आइपुगेको छ ।
मंगलबार सूचक १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा रोकिएको छ । यद्यपि, यसदिन कारोबार रकममा भने केही सुधार भएको छ । यस दिन ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी काराबोर भएको छ । सूचक घट्दा पनि कारोबार रकम बढ्नुले बजार बढ्ने संकेत गर्छ । तर, सुरुवाती बिन्दुबाट सूचक ओरालो लाग्नु भनेको धेरै लगानीकर्ता बजार अझै घट्छ भनेर सेयर बेचेर बाहिर निस्किन खोजेका छन् भन्ने संकेत गर्छ ।
बजार अझै अस्थिर छ । नेपालको सेयर बजार परिपक्व हुन सकेको छैन । बजारमा लगानीयोग्य रकममा कुनै सुधार नभएपछि त्यसको सीधा असर बजारमा निरन्तर परिरहेको छ ।
सरकारले चुनावको मिति घोषणा गरेपछि त्यसको सकारात्मक असर सेयर बजारमा पर्ने आँकलन लगानीकर्ताले गरेका थिए । सरकारले सोमबार बेलुका वैशाख ३० मा स्थानीय तहको चुनावको मिति तोक्दा पनि मंगलबार त्यसको सकारात्मक असर सूचकमा नपरेपछि लगानीयोग्य रकममा कुनै सुधार नहुँदासम्म बजारले बढ्दो ट्रेन्ड समात्न नसक्ने ठूला लगानीकर्ता बताउँछन् ।
बैंक लगानी गर्न सक्ने अवस्थामा छैनन् । लगानीकर्ताले सेयर किन्न रकम पाएका छैनन् । नयाँ ऋण दिन बैंक असमर्थ छन् । त्यसैको असर बजारमा परेको हो ।
बजारको समग्र गति, कम्पनीहरूको वित्तीय विवरण पनि ख्याल गर्नुपर्ने हुन्छ । मुलुकको अर्थतन्त्र, तरलता, बैंक ब्याजदर अनि कम्पनीको मुनाफा, प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता लगायतका सूचकहरूमा ख्याल गर्दै योजनाबद्ध हिसाबले लगानी रणनीति तय गर्न विज्ञहरूले सुझाव दिने गरेका छन् । यस्तै बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरण, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरूका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरूको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
हाम्रो सेयर बजारमा नीतिगत प्रभाव निकै पर्ने गरेको छ । अहिले चालिएका नीतिगत सुधारका कामले पनि बजारलाई सकारात्मक प्रभाव नै पारेको विश्लेषण भइरहेका छन् । पछिल्ला दिनमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयले तरलता सहज बनाउन केही नीतिगत कदम चालेकाले पनि सकारात्मक प्रभाव परेको अवस्था छ ।
मंगलबार ४० कम्पनीको मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको ३.८३ प्रतिशत मूल्य बढेको छ । मंगलबार सबैभन्दा बढी सेयर मूल्य लिवर्टी इनर्जीको ६.२७ प्रतिशत घटेको छ । यसदिन सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।