पाेखरा । कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो पोखराको फूलबारी होटेलले । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटललाई नेपालमा मात्र नभई दक्षिण एसियाकै नमुना मानिन्थ्यो ।
मजदुर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द यो होटेल अहिले भने सुनसान छ । तत्कालीन समयमा झन्डै ४५० जनालाई रोजगारी दिएको यस होटेलमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन् । होटेल तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको होटेलका इन्जिनियरिङ विभाग प्रमुख धनराज पुरीले जानकारी दिए ।
सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिन हुनसकेको छैन । पुरीका अनुसार पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणमा लाग्ने अनुमान गरिएको छ ।
सन् १९९८ देखि सञ्चालनमा आएको यो होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ ।
होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन् । होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । सुरुमा लगभग पाँच वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछि भने सन्तोषजनक हुन सकेन ।
त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्डलगायतका घटनाक्रमको असर होटेलमा पनि प्रत्यक्ष परेको थियो । यी विभिन्न समस्यासँगै खर्चालु पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको होटेलमा थपिएको मजदुर समस्याले होटेल अन्ततः बन्द हुन पुगेको हो ।
यसबीचमा होटेलका सञ्चालकदेखि विभिन्न समूहले व्यवस्थापनको जिम्मा लिए पनि होटेलले गति लिन सकेको थिएन । झण्डै ४ अर्ब लगानी भएको यस होटेलका सञ्चालक पियुषबहादुर अमात्य हुन् । उनी तत्कालीन राजा वीरेन्द्रनिकट थिए । दरबार हत्याकाण्ड, देशमा द्वन्द्वको अवस्था आदिले सबै क्षेत्र प्रभावित भएसँगै होटेलको अवस्था पनि त्यही रुपमा प्रभावित भएको अनुमान गरिन्छ । पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदुरबीचको द्वन्द्वले पनि होटेल बन्द हुन पुगेको जानकार बताउँछन् ।
पर्यटनमन्त्री कँडेलद्वारा स्थलगत अवलोकन
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले बन्द अवस्थामा रहेको फूलबारी होटेलको स्थलगत अवलोकन गरेका छन् । होटेललाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारको तर्फबाट केही गर्न सकिन्छ कि भनेर अवलोकन गरेको उनले बताए ।
‘होटेल पुनः सञ्चालनका लागि सञ्चालक र सरकारका तर्फबाट के के गर्न सकिन्छ त्यसका लागि छलफल गर्न हामी तयार छौं’, उनले भने, ‘होटेल सञ्चालनसँगै पोखरामा पर्यटकलाई गुणस्तरीय सेवा प्रवाहसँगै यसबाट झण्डै साढे चार सय व्यक्तिका लागि रोजगारी पनि सिर्जना हुने देखिन्छ ।’