काठमाडौं । व्यावसायिक घराना विशाल ग्रुपको अगुवाइमा ललितपुरको गोदावरीमा ‘गोदावरी भ्याली’ हाउजिङ निर्माण हुने भएको छ ।
ग्रुपको काठमाडौं उपत्यकामा पहिलो हाउजिङ परियोजना हो ।
साढे ३ अर्ब रुपैयाँ लगानी रहेको सो परियोजनामा विराटनगरका दुइटा व्यावसायिक समूह देवनरा र बाबा ग्रुपको पनि लगानी रहेको छ ।
यसअघि विशाल र देवनराले विराटनगरमा सेन्ट्रल मल निर्माण गरिसकेको छ । विशाल समूहको लगानी कृषि, अटोमोबाइल, ब्युटी एन्ड लाइफस्टाइल, शिक्षा, बैंक तथा वित्तीय संस्थाहमा रहेको छ ।
बाबा समूहले पनि बैंक तथा वित्तीय संस्था, खानी तथा खनिज, टेक्स्टाइल, खाने तेल रिफाइनरीमा लगानी विस्तार गरेको छ । यस्तै देवनरा समूहकोे जुट मिल, घिउ तथा खाने तेल रिफाइनरी, साबुन तथा डिटरजेन्ट, ट्रान्सपोर्ट, कृषिमा आधारित उद्योग, उड्डयन क्षेत्रदेखि स्टक ब्रोकर कम्पनीमा लगानी छ ।
विराटनगरमा सफल भएपछि सो समूहले ललितपुरको गोदावरी भ्याली हाउजिङ परियोजनालाई संयुक्त रूपमा अघि बढाएको हो । भूमि डेभलपर्समार्फत सुरु हुने सो परियोजनाको लागि बुकिङ खुलासमेत गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ तिम्सिनाले मार्चबाट निर्माण सुरु गरी ३० महिना भित्रमा ग्राहकलाई हस्तान्तरण गर्ने बताए । ४० रोपनी क्षेत्रफलमा ७१ वटा घरहरु निर्माण हुनेछन् ।
‘लक्जरियस’ घरको खोजीमा रहेकालाई लक्षित गरी निर्माण गर्न लागिएको सो परियोजनाभित्र प्रतिघर न्यूनतम ३ करोड ८० लाखदेखि ९ करोड रुपैयाँसम्म मूल्य रहेको जनाएको छ ।
ती घरहरु साढे ४ आनादेखि १२ आनासम्ममा निर्माण हुनेछन् । ९ करोड रुपैयाँ पर्ने घर १२ आना क्षेत्रफलमा निर्माण हुने जनाइएको छ । सबै घर साढे दुई तलाका हुने र टाइप ‘ए’ र टाइप सीएम डिजाइनका घरहरूको बिल्टअप एरिया २६३५.७१ वर्गफिट र टाइप ‘बी’ ३३६० वर्गफिट हुने जनाएको छ ।
सातदोबाटोबाट २० मिनेटमा सो परियोजनामा पुग्न सकिन्छ ।
घरहरू बिक्रीका लागि खुल्ला गरेसँगै कम्पनीले नै बैंकिङ सुविधासमेत दिने बताइएको छ । योसँगै बुकिङदेखि घर हस्तान्तरणसम्म किस्तामा रकम बुझाउने गरी घर किन्न सकिने मार्केटिङ हेड मानसराज जोशीले जानकारी दिए ।
त्यसभित्र बालबालिकाहरूलाई खेल्नका लागि चिल्ड्रेन पार्क, हेल्थ क्लब, कम्युनिटी हल, विद्युतीय गाडीका लागि व्यक्तिगत चार्जिङ स्टेसन, चार लेनको मुख्य बाटोसम्म पहुँचमार्ग, वास्तुअनुसार घर निर्माण गरिने उनको भनाइ छ ।
काठमाडौंभित्रको कोलाहललाई छल्दै शान्त र सुुविधासम्पन्न सेवा दिने उद्देश्यका साथ निर्माण हुन लागेको सो हाउजिङ को टाइप ‘ए’ भित्रका घरमा लिभिङ रुम, किचेन, फ्यामली रुम, पूजाकोठासहित ५ वटा बेडरुम रहने बताइएको छ ।
यस्तै टाइप ‘बी’का घरमा लिभिङ रुम, किचेन, फ्यामली रुम, पूजाकोठासहित ६ बेडरुम र एउटा मल्टिपर्पोज हल समावेश हुने कम्पनीले जनाएको छ।