बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू ब्रान्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधारणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया जिल्लाका केही विद्यालयमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थालाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्री उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बङ्लामुखी विद्यालयको परिसरमा उक्त सामग्री बिक्री-बितरण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साइबर एन्ड लाइब्रेरी नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियू १९ थान, प्रोजेक्टर १७ थान र पेनड्राइभ १७ थान बरामद गरेकाे छ । यस्तै क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सिसिटिभी १८ थान, किबोर्ड १९ थान, नेपाली वृहत् शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान, विभिन्न पुस्तक र क्यालेन्डर भएको कार्टुन २९ थानसमेत प्रहरीले बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।