काठमाडौं । मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ १ लाखभन्दा बढी डाउनलोड भएको छ । मेरो डाक्टर एपले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरूलाई सेवा पुर्याएको हो ।
त्यस्तै मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरूबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरूले अस्पतालमा नगई घरबाटै भुक्तानी गरी अस्पतालका सेवा लिएका छन् । घरबाटै अस्पतालको ओपीडी टिकट लिँदा लाइन लाग्ने झन्झट हटेको तथा समयको पनि बचत भएको सेवाग्राहीको भनाइ छ ।
मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको हो । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ ।
मेरो डाक्टरका सेवाहरू
मेरो डाक्टर मोबाइल एप तथा वेबसाइटमा मेरो डक्टर डटकममार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
मेरो डाक्टरमार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरूसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओपीडी टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न वा आफ्नो मेडिकल रेकर्डहरू, कहीँ र कुनै पनि समयमा हेर्न सक्छन् ।
त्यस्तै मेरो डाक्टरमार्फत उपलब्ध पूर्णकालीन चिकित्सकहरूसँग बिरामीले दैनिक रूपमा बिहान ७ बजेबाट राति ९ बजेसम्मको निःशुल्क परामर्श लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले इच्छुक बिरामीहरूका लागि २ सय ५० भन्दा बढी विशेषज्ञ डाक्टरहरूमार्फत अनलाइन टेली कन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ ।