काठमाडौं । सरकारले असोज १९ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेयता बोर्डमा अध्यक्ष पद खाली छ । चार महिनादेखि बोर्डले दैनिक काम मात्रै गर्दै आएको छ । नयाँ निर्णय गर्न सकेको छैन । यसबीचमा बोर्डका अधिकाँश काम रोकिएका छन् ।
सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ प्रकरणमा मुच्छिएपछि ढुंगानालाई सरकारले निलम्बन गरेर नयाँ प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा अध्यक्ष छनोट समिति गठन भएको थियो । सो समितिले सोमबार ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको छ ।
१५ जनाले आवेदन दिएकोमा समितिले पहिलो चरणमा ५ जनाको नाम छानेको हो । समितिले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम छानेको हो । निरज गिरी बोर्डको कार्यकारी निर्देशक हुन ।
स्रोतका अनुसार छनोटमा परेका पाँच जनालाई आउँदो आइतबार प्रस्तुतिका लागि योजना आयोगमा बोलाइएको छ । पाँच जनाले दिएको प्रस्तुति हेरेपछि समितिले आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा तीन जनाको नाम पठाउने छ । त्यही भएर आइतबार उनीहरु सबैलाई प्रस्तुतिका लागि बोलाइएको हो ।
सकेसम्म सोमबार नै धितोपत्र बोर्डका अध्यक्षको टुंगो लाग्ने छ । नभएमा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा नाम पठाउन सकिए त्यसपछिको बिहीबार बस्ने मन्त्रिपरिषदले बोर्डको अध्यक्षको टुंगो लगाउने छ । अर्को साताभित्र बोर्डले नयाँ अध्यक्ष पाउने छ ।
चुनावी वर्ष भएकाले यो सरकार विवादमा पर्न चाहँदैन । त्यही भएर धितोपत्र बोर्डको अध्यक्ष को ल्याउने वा नल्याउने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै चासो लिएका छैनन् । यता अर्थमन्त्री जनार्दन शर्माले आफ्ना निकट व्यक्ति ल्याउन चाहेका छन् । उनको रोजाईमा रमेशकुमार हमाल परेको अर्थका अधिकारीहरु बताउँछन् ।
तर, प्रधानमन्त्री देउवाले समितिका संयोजक पौडेललाई हाम्रा भन्दा पनि राम्रा व्यक्ति बोर्डमा ल्याउन भनेका छन् । प्रधामन्त्री देउवाले पौडेलसामू तपाईले नै धितोपत्रको महत्व राम्रोसँग बुझ्नु भएको छ, कस्तो व्यक्ति ल्याउँदा राम्रो हुन्छ,त्यही व्यक्तिको नाम सिफारिस गर्नुस् । यसमा मेरो कुनै हस्तक्षेप रहँदैन भनेको स्रोतको दाबी छ ।
पौडेलले सेयर बजारबाट १ खर्ब रुपैयाँ राजस्व उठाउन सक्ने सम्भावना देखेका छन् । त्यसका लागि धितोपत्र बोर्डका अध्यक्ष बजारलाई सही तरिकाले डोर्याउने नेतृत्व छान्ने प्रयास गरिरहेका छन् ।