काठमाडौं । कुमारी बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई हटाएर उक्त जिम्मेवारी बैंकका चिफ अपरेटिङ अफिर तथा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाललाई दिएको छ ।
यसैगरी सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मनिष तिमिल्सिनालाईसमेत जिम्मेवारीबाट हटाएको छ ।
गएको असार ३१ गते कुमारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले ४ वर्षे कार्यकाल पुरागरी अवकास लिएसँगै बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणिलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो ।
गत साउन १ गतेबाट उनलाई बैंक सञ्चालक समितिले कामुसीईओको जिम्मेवारी दिइएको हो । अनुजमणिसँगै मनिषलाई डीसीइओको जिम्मेवारी तोकेको थियो ।
सञ्चालक समितिको बैंठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेको हो ।
उनी अनुजमणि र मनिषपछि तेस्रो वरियताका बैंकको उच्च तहका कर्मचारी हुन । चार्टड एकाउन्टेन्ट खनाल सिद्धार्थ बैंकबाट एनआइसी एसिया क्यापिटलको सीईओ हुँदै कुमारी बैंकमा प्रवेश गरेका हुन् ।
अनुजमणि र मनिषले गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धितो मूल्याङ्कन गरी कर्जा दिने काममा सहयोग गरेको पाइएपछि उनीहरुलाई बैंक व्यवस्थापनबाट हटाउन राष्ट्र बैंकले दबाब दिदै आएको बताइएको छ । बैंकलाई नै जोखिममा राखेर कर्जा दिइएको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिमाथि उनीहरु हटाउन दबाब बढाएको थियो ।
राष्ट्र बैंकको दबाबले संञ्चालक समिति दुबैलाई बैंकबाट विदा गर्ने निर्णय लिन बाध्य भएको बताइएको छ । अनुजमणि र मनिषले १ वर्षको तलब लिने सर्तमा बैंक छोड्न तयार भएको कुमारी स्रोतले बतायो ।
बाराको बिश्वम्भरपुर–४ स्थित गायक अमात्यको कम्पनी (विल्भाभूमी वन प्रालि) नाम रहेको १२ बिघा १ कट्ठा जग्गालाई किर्ते गरी कुमारीको न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा दिइएको खुलेको थियो ।
विल्भाभुमीको नाममा रहेको जग्गा डेनिएल कम्पनीको नाममा किर्ते राजीनामा लिखत, लालपूर्जा, बाटो प्रमाणित, चार किल्ला प्रमाणित, रोक्का कागज आदि बनाई कर्जा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अध्ययनबाट खुलेको थियो ।
जग्गाको मूल्याङकन ३८ करोड गराई १९ करोड रुपैयाँ ऋण लिइएको थियो । विल्भाभुमीको नामबाट कर्जा लिई सिद्धार्थ बैंक ईमाडोल शाखामा खाता खोलेर विभिन्न व्यक्तिलाई रकमान्तर गरी रकम भुक्तानी गरेको खुलेको थियो ।
सीआईबीले अनुजमणि र मनिष धितोमुल्याकंनकर्तासहित १५ जनालाई दोषी करार गर्दै अभियोजन तयारपारी सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले धितो परिवर्तन भइसकेको भन्दै गायक अमात्य र बैंक तथा ऋणीबीच मिलापत्र गरिदिएपछि उक्त मुद्दा राफसाफ भएको थियो ।
योगेश्वरले थाहा पाउनुभन्दा अगाडी नै धितो परिवर्तन भइसकेको तथा अमात्यलाई कुनै पनि नोक्सानी नभएकाले बैंकिङ कसुरमा मुद्दा अगाडी बढाउन नसकिने ठहर सरकारी वकिल कार्यालयले गरेको थियो ।
बैंकका उच्च व्यवस्थापनमा रहेकै व्यक्ति यस्ता किर्तेमा संलग्नता देखिनु र एक पटक विवादमा परेका व्यवस्थापकहरु बैंक सञ्चालनका लागि अयोग्य हुने भन्दै राष्ट्र बैंकले उनीहरुलाई हटाउन दबाब दिदै आएको थियो ।