काठमाडौं । नेपाल धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट भएका छन् । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले पहिलो चरणमा ५ जनालाई छनौट गरेको हो ।
सोमबार बसेको सिफारिस समितिको बैठकले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो । छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ ।
छनोट भएका ५ जनामध्येबाट समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अम्गाई, सीताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
मन्त्रीस्तरीय निर्णयबाट बोर्ड अध्यक्ष नियुक्तको लागि सिफारीस समिति गठन भएको थियो । सो समतिले बोर्ड अध्यक्षको लागि आवेदन पनि मागेको थियो ।
आवेदन दिने समय सकिएपछि समिति गठन प्रक्रिया नै कानुनसंगत नभएको भनेपछि मन्त्रिपरिषदबाट निर्णय गराई समितिलाइ कानुनी मान्यता दिइ पुनः आवेदन खुला गरेको थियो । दोस्रो चरणको आवेदन माग गर्दा १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले बोर्डको अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन् ।
धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।