काठमाडौं । कानुनले वर्जित गरेको नेटवर्किङ व्यवसाय हाइपर फन्डमा जोडिने नेपालीहरुको संख्या बढिरहेको छ । सरकारले यस्ता सञ्जालमा नजोडिन सार्वजनिक आव्हान गरे पनि सरकारको सचेतनामूलक सन्देशलाई नेपालीले वास्ता गरेका छैनन् ।
हाइपर फन्डबाट हुने आम्दानीलाई देखाएर सोझासाझा नेपालीलाई फसाउने प्रपञ्च रचिएको छ । यद्यपि, हाइपर फन्डमा कति नेपाली जोडिएका छन् भन्ने यकिन तथ्यांक कोहीसँग छैन । सामाजिक सञ्जालमा देखिएको रोइलो हेर्दा हाइपर फन्डमा धेरै नेपाली जोडिएको हुन सक्ने सरकारी अनुमान छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार गाउँ गाउँका सोझा जनता हाइपर फन्डको फन्दामा फसेको हुन सक्ने देखिन्छ ।
अहिले नेपाल प्रहरीको अनुसन्धानबाट पनि कैयौं नेपाली यो संयन्त्रमा जोडिएको देखिन्छ । अत्यधिक नाफा कमाउने धेयले धेरै नेपालीहरु यो सञ्जालमा जोडिएको प्रहरीको अनुमान छ । अहिले हाइपर र साइफर नेटवर्कमा जोडिनेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
प्रविधिको विकास भएसँगै मौलाएका वित्तीय अपराधमा पनि व्यापक विस्तार भएको छ । त्यसैको एउटा कडीका रूपमा हाइपर फन्डलाई लिइएको छ । यसमार्फत विगत केही वर्षदेखि सुरु भएको ठगी पनि एक हो ।
हाइपर फन्डमा कसरी जोडिँदै छन् ?
हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ ।
हाइपर फन्ड नाम गरेको प्रच्छन्न मुद्रामा लगानी गरी उच्च प्रतिफल दिने घोषणासहित मानिसहरुलाई ठग्ने काम भइरहेको छ । यसअन्तर्गत नयाँनयाँ लगानीकर्तालाई फसाउँदै लगिन्छ र तिनीहरुबाट प्राप्त हुने रकम पुराना लगानीकर्तालाई ‘प्रतिफल’ भन्दै वितरण गरिन्छ ।
जबसम्म नयाँ लगानीकर्ताहरू यस्तै प्रलोभनमा परेर लगानी गरिरहन्छन् तबसम्म त यस्तो ठगीकर्म जेनतेन ‘जीवित’ रहला । तर, जुन दिन नयाँ लगानीकर्ता यसप्रति आकर्षित हुन छोड्छन्, यस्तो ‘ठगीको पिरामिड’ स्वतः भत्किन्छ र त्यो अवस्थामा पछिपछि लगानी गर्नेहरू सबैभन्दा बढी सिकार हुन पुग्छन् ।
हुन त त्यसमा उच्च प्रतिफलको लोभमा लगानी गर्ने सबैजसो ठगिएका हुन्छन् । यद्यपि पुराना लगानीकर्ताले आंशिक मात्रामा भए पनि आफ्नो लगानीको कथित ‘प्रतिफल’ प्राप्त गरिसक्ने हुनाले अपेक्षाकृत नयाँ लगानीकर्ताझैं उनीहरु सिकार हुनुपर्दैन ।
लगानीकर्ताले सावधानी अपनाउन जरुरी
हाइपर फन्डमा लगानी गर्नुअघि आफू कतै ठगीको सिकार त भइरहेको छैन भन्नेतर्फ लगानीकर्ताले सोच्नुपर्ने पौडेल बताउँछन् । विशेष गरी हाइपर फन्डको बारेमा निम्न लिखित तथ्यहरूको आधारमा सावधानी अपनाउनु अपरिहार्य देखिन्छ ।
हाइपर फन्ड कुनै पनि देशमा कानुनी रुपमा दर्ता भएर कारोबार गरिएको अवस्था छैन । बेलायतदेखि न्युजिल्यान्डसम्म र नेपालमा समेत यसको कानुनी हैसियत देखिँदैन । भोलि यो फन्डमा गरेको लगानीबाट कुनै लगानीकर्ता ठगिएको महसुस गर्छ भने उसले त्यस प्रकारको ठगीको कानुनी उपचार प्राप्त गर्न सक्दैन ।
बेलायतको वित्तीय नियामक एफसीएले समेत हाइपर फन्डलाई अनधिकृत मानेको छ । यस्तो योजनाले लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिने घोषणा त गर्छ तर त्यो प्रतिफलको स्रोत के हो भनेर कहिले पनि भन्दैनन् । यसैबाट पनि नयाँनयाँ सिकारबाट प्राप्त हुने रकम नै पुराना लगानीकर्ताको ‘प्रतिफल’ भएको बुझ्न कठिन छैन ।
जुन नयाँ लगानीकर्ता हुन्छ उसको प्रतिफल पनि उसले भविष्यमा बनाउने नयाँ सदस्य संख्याको आधारमा निर्धारण हुने भएपछि त्यसपछाडिको नियत सजिलै बुझ्न सकिन्छ ।
हाइपर फन्डको आफ्ना सदस्यहरूलाई उपलब्ध गराउने गरी कुनै पनि प्रकारको सेवा तथा वस्तु अस्तित्वमा छैन । केवल अभौतिक प्रच्छन्न मुद्राको नाममा मात्र लगानी गर्दा त्यो लगानी ठगीको लागि उपयुक्त माध्यम मात्र बन्न सक्छ ।
यिनै कारणले अहिले विश्वका अधिकांश मुलुकमा हाइपर फन्डप्रति सावधान हुन सूचित गरिएको पाइन्छ । नेपालमा पनि हाइपर फन्डमा लगानी गर्ने प्रवृत्ति आम रूपमा फैलिसकेको देखिन्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमै यसमा लगानी गर्नेहरूका लागि समूह बनाएर गतिविधि अघि बढिरहेको सन्दर्भमा यसको ‘लोकप्रियता’ निकै नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
छिट्टै उच्च प्रतिफल पाइने लोभमा नेपालीहरू पनि यसको सिकार भइरहेका सन्दर्भमा सरकारले गत असार ३० गते हाइपर फन्ड, जोसियल, क्राउड ओन, सोल म्याक्स, प्वाइन्टविस, विन्टरजस्ता नेटवर्किङजन्य ‘अवैध’ लगानी योजनामा सहभागी भई पुँजी पलायन गर्न सहयोग गर्नेहरूलाई प्रचलित कानुनअनुसार १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।
साथै यस्ता खालका गतिविधिमा सामेल नहुनसमेत सचेत गराएको छ ।
यो पनि हेर्नुहोस
गैरकानुनी हाइपर र साफिर नेटवर्किङ कारोबार बढ्दो, ३ जना पक्राउ
सरकारले गैरकानुनी मानेको हाइपर फन्डबाट अर्बौं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ