कोरियन कार निर्माता कम्पनी हुन्डाई अचानक विवादमा तानिएको छ ।
विवादमा तानिनुको कारण ‘हुन्डाई पाकिस्तान’ को सोसल मिडिया ह्यान्डलबाट गरिएको एउटा पोस्ट रहेको छ ।
आइतबार हुन्डाई पाकिस्तानको फेसबुक÷ट्विटर ह्यान्डलबाट भारतको कस्मिरलाई लिएर एउटा पोस्ट सेयर भएको थियो । हेर्दाहेर्दै उक्त पोस्ट भाइरल बन्यो । भाइरल भएसँगै ‘बाइकट हुन्डाई’ ह्यासट्याग दिएर सामाजिक सञ्जालमा हुन्डाईको आलोचना आलोचना सुरु भएको हो ।
पोस्टमा लेखिएको थियो, ‘कस्मिरका भाइबन्धुहरुको बलिदानलाई याद गर्दै उनीहरुको समर्थन गरौं । जो आज पनि स्वतन्त्रताका लागि संघर्षरत छन् ।’
उक्त पोस्टमा कम्पनीले ‘हुन्डाई पाकिस्तान’ र ‘कस्मिर सोलिडारिटी’ ह्यासट्याग पनि हालेको थियो ।
यसपछि हुन्डाईलाई भारतीयहरुको भावनामा ठेस पुर्याएको आरोप लागेको छ । यस्तै भारतीयहरुले ट्विटरमा कम्पनीलाई खुलेर गालीगलौच गर्न थालेका छन् ।
पाकिस्तानको तुलनामा भारत हुन्डाईको ठूलो बजार हो । कम्पनीले भारतमा आफ्नो कारोबार डाइरेक्ट गर्दै आइरहेको छ । तर, पाकिस्तानमा भने उसले कारोबारका लागि पार्टनर बनाएको छ ।
पाकिस्तानमा हुन्डाईको बिजनेस केवल कार बिक्रीमा मात्रै सीमित छ । भारतमा भने उसको डोमेस्टिक बिक्रीका साथै एक्सपोर्ट पनि छ । अर्थात् कम्पनीले भारतमा कार उत्पादन गरी विश्वबजारमा निर्यात गर्दै आइरहेको छ ।
गत वर्षको तुलनामा पाकिस्तानभन्दा भारतमा हुन्डाईको बिक्री ६२ गुणा बढी थियो ।
भारतमा कति कारोबार
हुन्डाई दक्षिण कोरियन कम्पनी हो । यसले भारतमा पूर्ण स्वामित्ववाला हुन्डाई मोटर इन्डिया लिमिटेडमार्फत कारोबार गर्दै आइरहको छ ।
आजभन्दा २५ वर्षपहिले सन् १९९६ मा हुन्डाई भारत प्रवेश गरेको थियो । अहिले कम्पनीको पोर्टफोलियोमा १० कार छन् । यसबाहेक भारतभर ५२२ डिलर र १२९८ सर्भिस सेन्टर रहेका छन् । भारतीय अटोमोबाइल बजारमा यसको हिस्सा १६.४ प्रतिशत छ ।
गत वर्ष कम्पनीको डोमेस्टिक सेल्स १९.२ प्रतिशले बढेर ५ लाख ५ हजार ३३ युनिट थियो ।
हुन्डाई भारतमा दोस्रो ठूलो कार कम्पनी हो । भारतमा मात्रै यसको टर्नओभर ६ अर्ब डलरबराबर छ ।
नम्बर वान कार एक्सपोर्टर कम्पनी
अहिलेको अवस्थामा हुन्डाई भारतको नम्बर वान कार एक्सपोर्ट कम्पनी हो । यसले १९९९ देखि भारतबाट कार निर्यातको काम सुरु गरेको थियो । हुन्डाई मोटर इन्डियाको एक्सपोर्टको महत्वपूर्ण योगदान हुन्डाई मोटर कम्पनीको ग्लोबल एक्सपोर्टमा छ ।
कम्पनीले अफ्रिका, ल्याटिन अमेरिका, मिडिल इस्ट, अस्ट्रेलिया र एसिया प्यासिफिक क्षेत्र गरी ८८ देशमा कार एक्सपोर्ट गर्दै आइरहेको छ । सन् २०२१ मा यसको एक्सपोर्ट ३१.८ प्रतिशतले बढेर १ लाख ३० हजार ३८० युनिट पुगेको थियो ।
पाकिस्तानको कारोबार
सन् २००४ सम्म हुन्डाई पाकिस्तानमा दिवान फारुख मोटर्ससँग मिली कार एसेम्बलिङ गर्थ्याे । तर, फारुख मोटर्स टाट पल्टिएपछि हुन्डाई पाकिस्तानबाट बाहिरियो । त्यसपछि २०१७ मात्रै पाकिस्तानी बजारमा प्रवेश पाएको थियो ।
अहिले हुन्डाईले पाकिस्तानमा मेनुफ्याक्चरिङ, मार्केटिङ र डिस्ट्रिब्युसनका लागि हुन्डाई निसतसँग पार्टनरसिप गरेको छ ।
हुन्डाई निसत मोटर प्रालिलाई हुन्डाई निसत भनेर पनि चिनिन्छ । यो अन्तर्राष्ट्रिय बिजनेस निसत ग्रुप सोजित कर्पोरेसन जापान र मिलत ट्याक्टर्स लिमिटेडको ज्वाइन्ट भेन्चर हो ।
पाकिस्तानमा हुन्डाईका सोनाटा, एलान्ट्रा, टक्सन, सान्टा एफई, ग्रान्ड स्टारेक्स लगायतका गाडी बिक्री हुन्छन् ।
२०२१ मा हुन्डाईले पाकिस्तानमा ८ हजार कार बेचेको थियो ।
हुन्डाई इन्डियाको स्पष्टीकरण
हंगामा सुरु भएपछि हुन्डाई पाकिस्तानको ट्विटर र फेसबुकमा भएको पोस्ट डिलिट गरिएको छ । तर, सोसल मिडियामा उक्त पोस्टको स्क्रिनसट भने भाइरल बनिरहेको छ । आलोचनापछि हुन्डाई इन्डियाले भारतप्रति आफ्नो प्रतिबद्धता जताउन एउटा वक्तव्य जारी गर्दै आफू भारतीय बजारका लागि प्रतिबद्ध रहेको र राष्ट्रवादको सम्मान गर्न तत्पर रहेको जनाएको छ ।
-एजेन्सी ।