काठमाडौं । बैंकिङ, होटल तथा पर्यटन र लघुवित्त समूहमा भएको गिरावटलाई टेको लगाउँदै बिमा र अन्य समूह उचालिएपछि सेयर बजार सूचक १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा रोकिएको छ ।
आइतबार बिहीबारको बिन्दुबाट ४० अंकले घटेको सूचक सोमबार बढेको छ । सोमबार १०५ कम्पनीको मूल्य बढ्दा सबैभन्दा बढी अन्य समूह र बिमा कम्पनीतर्फ राम्रो वृद्धि देखिएको छ । यद्यपि, कतिपय जलविद्युत् कम्पनीको मूल्यमा पनि बढोत्तरी देखिएको छ ।
लगानी समूहमा ३.६ प्रतिशतको वृद्धि हुँदा अन्य समूह २.४१ प्रतिशतको वृद्धि छ । उता जीवन बिमा समूहममा ०.८ प्रतिशतको वृद्धि हुँदा निर्जीवन बिमातर्फ शून्य दशमलव ५८ प्रतिशतको वृद्धि भएको बजारमा बैंकिङ समूह ०.२१ र होटल तथा पर्यटन ०.१४ प्रतिशतले घटेको छ ।
आइतबार २८३६ मा रोकिएको सूचक कारोबार खुल्दा नै घटेको थियो । र, पहिलो १० मिनेटमै सूचक २८२२ सम्म झरे पनि त्यसपछि भने बढ्दो ट्रेन्डलाई समातेको थियो । यद्यपि, उतारचढावको क्रममा कारोबार अवधिभरि रहेको बजारमा माथिल्लो उचाइ २८५३ बाट केही तल झरेर अन्तिम कारोबार भएको छ ।
सोमबारको कारोबार प्रवृत्ति र विभिन्न समूहमा देखिएको कारोबार प्रवृत्ति र मूल्य उतार चढावलाई हेर्दा कारोबार रकमलाई विश्लेष्ण गर्दा वित्तीय क्षेत्र र मुलुकको राजनीति परिदृष्यमा देखिने तात्कालीक हल्लालाई आधार बनाएर बजार फेरि घट्ने वा बढ्ने ट्रेन्ड समाउने आँकलन गर्न सकिन्छ ।
माघ महिनाको अन्तिम साता भएकाले अब बजेट र मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा नजिकिँदै छ । दुवै नीति समीक्षामार्फत यो वा त्यो नीति पुनरावलोकन हुने भनेर हल्ला फिज्याउने क्रम सुरु हुनेछ । त्यसैका आधारमा लगानीकर्ताहरु बजारलाई चलायमान बनाउन कोसिस गर्ने छन् ।
अर्कोतिर राष्ट्रिय राजनीतिक परिदृष्यममा हुने फेरबदलमा ‘एमसीसी घटनाक्रम’, र स्थानीय तहको निर्वाचन घोषणा हुने वा नहुने विषयलाई आधार बनाएर तीव्र चलखेल गर्न खोजिने छ । जसको असर सेयर बजारमा पर्ने छ । ६ महिनाको अधिकांश सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक भइसकेको अवस्थामा ७औं महिना (माघ)को वित्तीय विवरणको हवाला दिएर कम्पनी विशेषलाई लक्षित गरेर पनि विभिन्न अफवाहहरु ल्याइने छ ।
जसले सम्बन्धित कम्पनी र क्षेत्रलाई असर पुर्याउने छ । तथापि, हल्ला जे जस्ता भए पनि सूचीकृत कम्पनीहरुको वित्तीय विवरण नकारात्मक नरहेको, राजनीतिक माहोलमा तत्विक भिन्नता नभएको, अर्थतन्त्रका सूचकहरु समग्रतामा राम्रो नभएको स्थितिलाई विश्लेषण गर्दा बजार तत्कालै ठूलो हिस्सेदारी सहित माथि उक्लिने सम्भावना भने कम छ ।
सोमबार ५ अर्ब २ करोड रुपैयाँको कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा बढी ४९ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यद्यपि, समग्र कारोबार आइतबारको भन्दा कम हो । सोमबार नेपाल इन्फ्रास्टक्चर बैंककै सबैभन्दा बढी मूल्य (८.४२) बढेको छ । उता, बुद्धभूमि नेपाल हाइड्रोको सबैभन्दा बढी मूल्य (४.५७) घटेको छ ।