काठमाडौं । सरकारले मुख्य भन्सार नाकाबाट भित्रिने सामानमा कडाइ गर्न थालेपछि न्यूनबिजीकरण गरेर सामान भित्र्याउनेहरुको रोजाइमा गुमनाम नाका पर्न थालेको खुलेको छ ।
सरकारले प्रमुख र चल्तीका भन्सारबाट आउने जुत्ता–चप्पलको चेकजाँचलाई तीव्र बनाएपछि व्यापारीले नयाँ रुट पैल्याएका छन् । त्यही रुटको प्रयोग गरेर ठूलो परिमाणमा जुत्ता–चप्पल न्यूनबिजीकरण गरेर ल्याउन थालेको हुनसक्ने राजस्व अनुसन्धान विभागले जनाएको छ ।
अहिले ठूला र चल्तीका नाकाबाट भन्सार र राजस्व अनुसन्धानको विशेष निगरानी भइरहेको छ । त्यहाँबाट आउने जुत्ता–चप्पललगायत हरेक वस्तु चेकजाँच हुन सक्ने देखेपछि व्यापारीले नयाँ रुपको प्रयोग गर्न थालेका हुन सक्छ । त्यही भएर हाम्रो अनुसन्धान गुमनाम नाकातिर पनि केन्द्रित छ,’ विभागका एक अधिकारीले भने, ‘जुन नाका सरकारको प्राथमिकतामा परेको छैन । जहाँ भन्सारका कर्मचारी तथा राजस्वका कर्मचारी छैनन् । त्यस्ता नाका प्रयोग न्यूनबिजीकरणमार्फत ठूलो परिमाणा जुत्ता–चप्पल भित्रिरहेको हुन सक्छ ।’
अहिले चीनबाट सामान ल्याउन कठिन बनेको छ । चीनबाट आयात हुने हरेक सामानको भन्सार र राजस्वका कर्मचारीलाई निगरानी बढाएका छन् । चीनबाट आउने जुत्ता–चप्पलमाथि सरकारको झन कडा चेकजाँच छ । त्यही भएर व्यापारीले भारतीय बजारमै उत्पादन भएका जुत्ता–चप्पल गुमनाम नाकाबाट भित्रिरहेका हुन् ।
जुत्ता उद्योगीका अनुसार सरकारले चल्तीका नाकामा कडाइ गरेको छ । तर, व्यापारीले नयाँ रुट पत्ता लगाएर त्यहाँबाट न्यूनबिजीकरण तथा चोरी पैठारी गरेर सामान ल्याइरहेका छन् । नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर भइसकेको छ । तर, विदेशबाट ठूलो परिमाणमा जुत्ता–चप्पल चोरी पैठारी तथा न्यूनबिजीकरण भएर भित्रिने गरेकाले यहाँका उद्योगले आफ्नो क्षमताको ५० प्रतिशत पनि उत्पादन गरेका छैनन् ।
खासगरी, भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर (नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली (कपिलवस्तु), तातोपानी, ठाँडी (सिरहा) भन्सार नाकाबाट जुत्ता चप्पल न्यूनबिजीकरण गरेर भित्रिरहेका छन् । त्यस्ता नाकाका प्रमुखसँग सेटिङ मिलाएर पनि व्यापारीले ठूलो परिमाणमा जुक्ता चप्पल ल्याइरहेका हुन् ।
नेपाली उद्योगको अवस्था
जुत्ता उत्पादक संघका अनुसार नेपालमा अहिले वार्षिक छ करोड जोर जुत्ता–चप्पल खपत हुने गरेको छ । वार्षिक कारोबार ३० अर्ब रुपैयाँ नाघ्छ । कुल खपतमध्ये झन्डै ६० प्रतिशत योगदान स्वदेशी ब्रान्डको छ । स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका जुत्ता–चप्पल उत्पादन हुन थालेपछि बजार पनि बढिरहेको छ ।
नेपाल जुत्ता–चप्पलमा आत्मनिर्भर उन्मुख छ । नेपालमा व्यावसायिक जुत्ता उत्पादनको पाँच दशक लामो इतिहास छ । चिनियाँ सहयोगमा २०२२ सालमा बाँसबारी छालाजुत्ता कारखाना खुलेपछि आधुनिक र व्यावसायिक रूप लिएको हो ।