काठमाडौं । बजारमा लगानी योग्य रकमको अभाव अन्त्य हुन लामो समय लाग्ने देखिएपछि त्यसको सिधा असर सेयर बजारमा पर्न थालेको छ । सरकारले जेठमा स्थानीय तहको चुनाव गर्ने सहमति गरेपछि उत्साह आएको सेयर बजार अहिले फेरि पेनिक हुन थालेको छ ।
बैंकहरूले लगानीयोग्य रकम अभावको समस्या सुध्रिन एक वर्षसम्म लाग्ने सक्ने लगानीकर्तालाई बताउन थालेपछि त्यसको असर आइतबारको सेयर बजारमा परेको हो । बजारले कारोबारको सुरूवातमा बढ्ने र त्यसपछि विस्तारै घट्ने ट्रेन्ड समाएको छ । यस्तो ट्रेन्ड समाउनुलाई सेयर बजारमा सुखद् मानिँदैन् । आइतबार पनि सोही प्रवृत्ति दोहोरिएको छ । सुरूमा बढ्ने र विस्तारै घट्दै जाने प्रवृत्ति देखिएको छ ।
गत बिहीबार घटेको विन्दुबाट पनि ओरालो झरेपछि सेयर बजार आइतबार घट्ने आंकलन गरिएको थियो । बिहीबारको आंकलनअनुसार नै सेयर बजार आइतबार भारी अंकले घटेको छ ।
बजार माथि जान सुरूमा घट्ने र विस्तारै माथितिर चढ्ने गर्छ । तर, आइतबार सुरूमा बढेर विस्तारै घट्दै गएको देखिन्छ । तर, बिहीबारको जस्तो गरी बजार तलमाथि भएको छैन । आइतबार १ बजेर ४० मिनेटमा आज दिनभरकै न्यून बिन्दूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आएको थियो । त्यो बेला सूचक २८२९ बिन्दूमा नेप्से ओर्लिएको थियो ।
त्यसपछि विस्तारै नेप्से उकालो लागेको देखिन्छ । बजार बन्द हुँदा नेप्से ४०.५७ अंकले घटेर १ बजेर ४० मिनेटमा पुगेको सूचकभन्दा केही माथि २८३७.१७ बिन्दुमा पुगेर बन्द भएकाे छ । नेप्सले बनाएको ग्राफलाई हेर्दा सोमबार सूचकमाथि जान सक्ने देखिन्छ । बिहीबार जसरी नेप्सेले ग्राफ बनाएको छैन । तर, कारोबार रकममा भने गिरावट आएको छ । बिहीबार ८ अर्ब माथि कारोबार भएकोमा आइतबार ५ अर्ब ८३ करोडको सेयर किनबेच भएको छ ।
सूचक ४० अंकले घट्दा पनि १३ कम्पनीको मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्यो ओरालो लागेको छ । घट्दो बजारमा नेपाल हाइड्रोको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ ।
पछिल्ला दिनहरुमा बजार औसतमा सकारात्मक गतिमा रहेको छ । हाम्रो सेयर बजारलाई सधैं नीतिगत विषयले प्रभाव पार्दै आएको छ । यसअघि पनि केन्द्रीय बैंककै सेयर धितो कर्जाको सीमाका कारणले बजार ओरालो लाग्न थालेको थियो । यही बेला बजारमा तरलता अभाव र ब्याजदर वृद्धि पनि भयो ।
यसले बजारलाई झनै अप्ठेरोमा पारेको थियो । तर, अहिले फेरि नीतिगत परिवर्तनहरु गरिएका छन् । तरलता सहज पार्ने टुल्सहरुको पनि प्रयोग गरिएको छ । केन्द्रीय बैंकले आयातमा कडाई गरेको । डलर सटहीमा कडाई गरिएको छ । यस्तै, बैंकहरुले निक्षेपको ब्याजदर बढाएका पनि छैनन् । यी परिदृश्यहरुमा बजारको औसत गति सकारात्मक हुने धेरैको अपेक्षा छ ।
यस्तै, लगानीकर्ताहरुले मुलुकको समग्र अर्थतन्त्र, तरलता अवस्था, ब्याजदर लगायतका पक्षमा पनि ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ । बजारको गति सधैं एकनाशको हुँदैन । घटबढ हुन सक्ने तथ्यलाई पनि ख्याल गर्दै सोहीअनुसार रणनीति तय गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । जोखिम बहन क्षमता र होल्ड गर्न सक्ने अवधिका बारेमा ध्यान दिन आवश्यक हुन्छ ।
आम लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरुमा आधारभूत अवस्था अध्ययन गरेर भ्याल्यू इन्भेष्टमेन्टको अवधारणालाई अवलम्बन गर्न सके बजारबाट लाभ लिन सकिने विश्वास गर्न सकिन्छ । यस्तै, कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।