काठमाडौं । दूरसञ्चार तथा प्रविधि क्षेत्रको नियमनकारी निकाय नेपाल दुरसञ्चार प्राधिकरणले अवैधानिक क्रिप्टो कारोबार नियन्त्रणमा सहयोग गर्ने भएको छ ।
क्रिप्टोमुद्रा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग जोडिएका विषय हुन् । यी विषय दूरसञ्चार प्राधिकरणको कार्यक्षेत्र वा अधिकार क्षेत्रभित्र पर्दैन । यद्यपि प्रविधिको सहयोगमा हुने यस्ता अभौतिक गैरकानुनी क्रियाकलापलाई रोक्न सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।
‘क्रिप्टो कारोबार अवैधानिक हुँदासम्म यसको प्रयोगलाई प्रोत्साहन नगर्न र कारबाही गर्न पर्ने विषय आयो भने प्राविधिक सहयोग गर्न हामी तयार छौं ।’ नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन शाखाका निर्देशक विजयकुमार रोयले क्यापिटल नेपालसँग भने ।
क्रिप्टोमुद्रामा लगानी तथा कारोबारका लागि व्यक्तिहरूको फोन, म्यासेज तथा ओटीटीमार्फत सम्पर्क राख्छन । दूरसञ्चार कम्पनी तथा इन्टरनेट सेवाप्रदायकहरूसँग त्यस्ता संवेदनशील सूचनाहरू लिएर प्राधिकरणले अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा राजस्व अनुसन्धान विभागहरूलाई सहयोग पुर्याउन सक्छ । प्रविधिबाट कारोबार हुने भएकाले यसमा प्राधिकरणले जानकारी राख्न सक्ने छ ।
तर, हालसम्म कुनै पनि निकायले आफूहरूसँग समन्वयका लागि सहयोग नमागेको हुँदा प्राधिकरणले यसबारेमा खासै चासो नदिएको उनले बताए ।
‘क्रिप्टोको मामिलामा हामीलाई त्यस्तो जानकारी आएको छैन । राजस्व र राष्ट्र बैंकहरूले सहयोग माग्दा हामीले गर्ने गरेका छौं ।’
तर, समन्वयका लागि कुनै निकायले अनुरोध नगरेसम्म आफ्नो स्तरबाट भने त्यस्तो विशेष अध्ययन प्राधिकरणले गरेको छैन भन्छन् रोय ।
यसअघि प्राधिकरणले अनलाइनमा हुने गैरकानुनी जुवाका प्रकरणमा भने त्यस्ता साइटहरूलाई पहिचान गर्ने तथा ट्रयाक गर्नेलगायत विविध प्राविधिक पक्षहरूमा सहयोग गरेको रोय बताउँछन् ।
आगामी फेब्रुअरी ८ मा पर्ने ‘सेफर इन्टरनेट डे’ लाई मध्येनजर गर्दै सुरक्षित अनलाइन गतिविधि तथा क्रिप्टो कारोबार जस्ता गैरकानुनी क्रियाकलापबारे जानकारी दिन आफूहरूले अभियान पनि चलाइरहेको रोयले जानकारी दिए ।