एजेन्सी । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि विश्व अर्थतन्त्रलाई ठूलो असर गरेको छ । महामारीले विश्वको आपूर्ति श्रृङखलालाई अवरोध गर्दा उपभोग्य वस्तुको मूल्यमा तिव्र उतारचढाव आयो । बन्दाबन्दी (लकडाउन) ले रोजगारका क्षेत्रहरु खुम्चिदा बेरोजगारी संख्या बढायो र पर्यटन क्षेत्रबाट हुने आम्दानीमा ठूलो गिरावट आयो । विश्व बैंकका अनुसार महामारीले विश्वमा थप ९ करोड ७० लाख जनसंख्यालाई गरिबीको रेखामुनी धकेलेको छ ।
महामारीसँग जुध्न सरकारहरुले खर्च बढाए । स्वास्थ्य, वेरोजगारी, खाद्य सुरक्षा व्यवसायको पुनरुत्थानमा ठूलो रकम खर्च भएको छ । कोरोना महामारीबाट सिर्जित समस्या समधान गर्न मुलुकहरुले आन्तरिक र वाह्य गरी ठूलो रकम थप ऋण लिन बाध्य भएका छन् । जसका कारणले विकशित, विकासशील र अतिकम विकशित मुलुकहरुको ऋण दायित्व बढेको छ ।
पछिल्लो समयमा देशहरुलाई ऋणको भार बढ्दै गएको छ । अहिले विश्वको ऋण बढेर २२६ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो दोस्रो विश्वयुद्धपछिको सबै भन्दा बढी ऋण हो । सरकारहरुले लिएको ऋण २८ ट्रिलियन डलरले बढेको छ । यसले विश्वको सार्वजनिक ऋण र जीडीपी अनुपात औसत ९९ प्रतिशत पुगेको छ ।
सबैभन्दा बढी ऋण विकसित मुलुक जापानको छ । जापानको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी रेसियो) र ऋण (डेब्ट रेसियो) अनुपात सबैभन्दा बढी अर्थात २५७ प्रतिशत पुगेको छ । यस्तै दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सको डेब्ट–जीडीपी रेसियो बढेर १३७ प्रतिशत पुगेको छ । सुडान ऋण बढी हुने दोस्रो मुलुक भएको छ । सुडानको २१० प्रतिशत छ । यस्तै ग्रिसको २०७, इटालीको १५५ र सिङापुरको १३८ प्रतिशत रहेको छ ।
यसैगरी नेपालको ४६.७, पाकिस्तानको ८३.४, श्रीलंककाको १०९.३, भारतको ९०.६, भुटानको १२३.४ प्रतिशत, चीनको ६८.९ अमेरिकाको १३३.३, फ्रान्सको ११५.८ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै ऋण भएका १० मुलुकहरु
जापान सुडान र ग्रिस सबैभन्दा बढी डेब्ट जीडीपी अनुपात भएका मुलुक हुन । जापान ऋण र जीडीपी अनुपात धेरै हुने मुलुक बन्नुमा कुनै अनौठो भने हैन । सन् २०१० मै जापानको ऋण र जीडीपी अनुपात २०० प्रतिशत पुगेको थियो । जापान सरकारले बण्ड निष्कासन गरेपछि ऋण झनै बढेको हो । सरकारको बैंक अफ जापानसँग मात्रै कुल ऋणको ४५ प्रतिशत हिस्सा रहेको छ ।
सबैभन्दा कम ऋण हुनेमा हङकङ र ब्रुनाइ डी रहेका छन् । हङकङको डेब्ट–जीडीपी रेसियो २.१ र ब्रुनाइको २.३ प्रतिशत मात्र रहेको छ । ऋणको अनुपात बढ्दै गएपछि धेरै मुलुक तिर्न नसकेर डिफल्ट हुने संभावना बढेको छ । यसले पछि वित्तीय बजारमा ‘प्यानिक’ सिर्जना गर्ने संभावना छ ।
कोरोना महामारीले सन् २००८ को विश्वमा आएको वित्तीय संकट भन्दा खराव अवस्था ल्याएको छ । यसका कारण १०० भन्दा बढी मुलुकहरुले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा खर्च कटौती गर्नुपरेको आईएमएफले जनाएको छ । ३० विकासशील मुलुकहरु अहिले ठूलो ऋण संकटमा फसेका छन् ।
बढी ऋण लिएका कारण उत्पन्न हुने उच्च ब्याजदरले सार्वजनिक खर्चमा ठूलो समस्या आउने चेतावनी आइएमएफले दिएको छ । कसिलो वित्तीय नीतिले पनि सार्वजनिक र निजी क्षेत्रलाई थप संकटल ल्याउन सक्ने चेतावनी आईएमएफले दिएको छ ।
(भिजुअल क्यापिटल डटकमको सहयोगमा)