काठमाडौं । हुन त, कोभिडका कारण विश्वभरको पर्यटन क्षेत्र थलामा परेको छ । पहिलो, दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा सबैभन्दा बढी समस्यामा पर्यटन क्षेत्र र त्यसभित्र पनि हेलिकप्टर कम्पनीहरू छन् । विशेष गरेर नेपालमा हवाई उड्डयनभित्र पनि हेलिकप्टर कम्पनीहरू कोभिडका कारण संकटमा परेको व्यवसायीहरू बताउँछन् ।
कोभिडका कारण विदेशी पर्यटकहरू नआएको र आन्तरिक पर्यटकहरू त्यसमा पनि खोज तथा उद्धारमा बढी सक्रिय हुने हेलिकप्टर कम्पनीहरूबीच नै अस्वस्थ्य प्रतिस्पर्धा हुन थालेको छ । सीमित व्यक्तिहरूले मात्र हेलिकप्टर प्रयोग गर्ने गरेको र धेरै कम्पनीहरू भएको कारणले घटाघटमा उडान हुने गरेको छ ।
यसरी हेर्दा प्रयोगकर्ताहरूलाई फाइदा पुगे पनि व्यवसायीहरूबीच भने धेरै समस्या हुन थालेको चर्चा सुरु भएको छ । अहिले घटाघटमा उडान हुने भएकाले नाफा छोडेर लाग्ने मूल्यभन्दा पनि कममा उडान गर्न लागेको भन्दै हेलिकप्टर कम्पनीहरूका सञ्चालकहरूबीच एक अर्कामा दोष दिँदै पन्छिन लागेको बताउँछन् । कम्पनीहरूले तत्कालका लागि सञ्चालन खर्च जोहो गर्ने नाममा निकै सस्तो दरमा उडान गर्न लागेको भन्दै व्यवसायीहरूबीच नै द्वन्द्व सिर्जना हुन थालेको बताइन्छ ।
एक अर्कालाई दोष देखाउँदै भाडा घटाएको आरोप प्रत्यारोप लगाउन सुरु भएको छ । अहिले तीव्र प्रतिस्पर्धाका बीचमा पनि हेलिकप्टरहरूले दैनिक उडान गर्न मुस्किल हुन थालेको छ । अहिले एउटा हेलिकप्टरले मुस्किलले तीन दिनमा एउटासम्म उडान गर्न पाउने अवस्था सिर्जना भएको एक व्यवसायीले जानकारी दिए ।
बल्लबल्ल उडानका लागि बुकिङ गर्नेले सस्तोमा आउने गरेको ती व्यवसायीको भनाइ छ । धेरै कम्पनी भएपछि हेलिकप्टर प्रयोगकर्ताले पनि बार्गेनिङ गरेर सेवा लिँदै आएको बताउँछन् ।
कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा हुँदा तत्कालका लागि फाइदा भए पनि दीर्घकालमा भने जटिल समस्या आउनेतर्फ व्यवसायीहरूले बुझ्न आवश्यक रहेको अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाको भनाइ छ ।
उडानको बुकिङ आयो भन्दैमा सस्तोमा उडान गरेर इन्जिनको आवर घटाउँदै गएको भन्दै पछि आवर सकिएपछि आउने समस्यामा व्यवसायीहरू चिन्तित नभएको बताउँछन् । उनले आफ्नो कम्पनीले तीव्र प्रतिस्पर्धामा उडान नगरेको र मूल्य घटाएर उडान गर्न नहुने तर्क रहेको बताउँछन् ।
फिस्टेल एयरका कार्यकारी निर्देशक मनोज कार्कीले कम्पनीहरूबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाले जटिल समस्या निम्त्याउने भएकाले त्यसप्रति सजग हुने बेला आएको बताउँछन् । सस्तो मूल्यमा उडान गर्ने र भाडा घटाघट गर्नमा सबै कम्पनीहरू दोषी रहेको भन्दै तोकिएको भन्दा कममा नउडाउन व्यवसायीहरूलाई अनुरोधसमेत गरेका छन् ।
हेलिकप्टर कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर न्यूनतम र अधिकतम भाडा निर्धारणसमेत गरेका छन् । तर, पछिल्लो समय अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएपछि निर्धारण गरिएको न्यूनतम भाडाभन्दा धेरै कममा उडान हुन थालेको छ ।
जसको कारण हेलिकप्टरको इन्जिनको आवरमा समस्या उत्पन्न हुने बताउँछन् । एउटा हेलिकप्टरको इन्जिन मर्मत तथा फेर्नका लागि करिब ७ देखि ९ करोडसम्म लाग्ने व्यवसायीहरूको भनाइ छ । अहिले ११ वटा हेलिकप्टर कम्पनीहरू सञ्चालनमा छन् ।