काठमाडौं । मेलम्चीको पानी चैतभित्र काठमाडौं उपत्यकामा ल्याउन अर्थ मन्त्रालयले बजेट दिने भएको छ । अर्थले तत्काल पानी आपूर्तिको संरचनाको पुनर्निमार्णका लागि ३६ करोड ४५ लाख रुपैयाँ बजेट निकासा गर्न सहमति जनाएको हो ।
मन्त्रिपरिषद बैठकले आयोजनाको पुनर्निमाणका लागि बजेट दिने प्रस्ताव पारित गरिसकेको छ । सरकारले अस्थायी संरचना बनाएर चैतभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजना सार्वजनिक गरिसकेको छ ।
मेलम्ची खानेपानी विकास समितिले अस्थायीरुपमा काठमाडौंमा पानी ल्याउन साढे ३६ करोड रुपैयाँमा आवश्यक पर्ने जानकारी गराएको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले बताए ।
पुनर्निर्माण गर्न माग गरिएको बजेटमा अर्थ मन्त्रालयले पनि सहमति जनाइ सकेको प्रवक्ता ढकाल जानकारी दिए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘हामीले माग गरेको ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ दिने सहमति अर्थले जनाइसकेको छ । आयोजनाले नै त्यति बजेटमा काम गर्न सकिन्छ भनेर सिफारिस गरेको हो ।’
प्रतिस्थापन बजेटमा मेलम्चीको पुनर्निर्माणको लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यद्यपी सो रकम सबै पुनर्निर्माण गर्नको लागि सरकारले दिने घोषणा गरेको र हाल माग गरिएको रकम तत्काल अस्थाइ रुपमा पानी ल्याउनका लागि मात्र भएको मन्त्रालयले जनाएको छ ।
आयोजनाको पुनर्निर्माण सुरु भएको एक हप्ता भएको छ । गत असारमा मेलम्ची खोलामा गएको बाढीले क्षति पुगेपछि करिब साढे ७ महिनापछि आयोजनाको अस्थाइ रुपमा पुनर्निर्माण कार्य सुरु भएको आयोजना प्रमुख बासुदेव पौडेलले बताए ।
उनका अनुसार पुननिर्माण कार्य ३ स्थानबाट सुरु भएको छ । ‘अम्बाथानको अडिटमा, ९ नम्बर गेट (इन्टेक)मा र १ नम्बर गेट खोल्ने क्रममा रहेको छ । ‘मेसिन परिचालन भइरहेका छन्, अहिलेसम्म केही संरचना भेटिएको छैन’ आयोजना प्रमुख पौडेलले भने । एक हप्तासम्म गेग्रानले पुरिएको स्थलमा मेसिन परिचालन गरेर निरन्तर काम भइ रहेको छ ।
खानेपानी आयोजनाले बाहिरको गेग्रान खनेर गेटको मुख खोज्ने काम भइरहेको जनाएको छ । यद्यपी भित्री अन्य संरचनको काममा सुरु हुन सकेको छैन । यति बेला मेलम्चीमा ९/१० वटा स्काभेटर, करिब ३० वटा टिपर तथा लगभग ७० जना कामदार पुनर्निर्माणमा संलग्न रहेका छन् । आयोजनामा अधिकांश काम मानिसले भन्दा पनि मेसिनले गर्नुपर्ने अवस्था रहेको प्रमुख पौडेलको भनाइ छ ।
यसअघि आयोजनाको निर्माण गरेको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले नै मेलम्चीको पुनर्निर्माण सुरु गरेको हो । सिनोको म्याद आगामी असार मसान्तसम्म थप गरेपछि पुनर्निर्माण कार्य अगाडि बढेको हो । सिनो हाइड्रोले यसअघि आयोजनाको सुरुङ र हेडवक्स निर्माण गरेको थियो । त्यसमध्ये सुरुङको म्याद अघिल्लो वर्ष नै सकिएको थियो भने हेडवक्स निर्माणको म्याद गत अगस्टमा सकिएको हो ।
यसअघि सिनोको म्याद थप नहुँदा पुनर्निर्माण काम सुरु गर्न समस्या भएको तथा अध्ययनको काम अघि बढ्न सकेको थिएन । पुस अन्तिम साता बसेको मन्त्रिपरिषदको बैठकले सिनोको म्याद असार मसान्तसम्म थप गरेपछि काम सुरु भएको हो ।
खानेपानी आयोजनाका विभिन्न संरचनाहरूमा गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको लेदोसहितको बाढीले पुरिएका छन् । बाढीले आयोजना स्थलमा ल्याएको गेग्रान नपन्साउँदा क्षतिको यकिन विवरण हालसम्म पनि प्राप्त हुन सकेको छैन ।
सरकारले पटक–पटक उपत्यकामा मेलम्चीको पानी अस्थायी रूपमा चैत मसान्तसम्म ल्याउने घोषणा गर्दै आएको छ । माघ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै यो वर्षभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने बताएका छन् । त्यस्तै खानेपानीमन्त्री उमाकान्त चौधरीले पनि चैतसम्ममा पानी ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
अबको करिब साढे २ महिनामा पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्छ । तर, हालसम्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकासँग मिलेर आयोजनाले अस्थायी रूपमा ८ किलोमिटर बाटो निर्माणबाहेक अरू काम गर्न सकेको छैन ।