खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा मोटरेबल पुल बन्न थालेकाे छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नं प्रदेश यातायात पूर्वाधार निर्देशनालय र जिल्लास्थित पूर्वाधार विकास कार्यक्रमको संयुक्त लगानीमा पुल निर्माणका लागि ढलान गर्न थालिएको हो ।
७ करोड ६१ लाख २४ हजार ५४३ रुपैयाँको लागतमा ३५ मिटर लामो ८.४० मिटर चौडा पुल निर्माण गरिने जनाइएको छ ।
ठेकेदार कम्पनी रौता–रोशन–सुशम–आदित्य जेभीले गत मंसिर–७ गते नै निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोना संक्रमणका कारण जनाउँदै समयमै पूरा नगरेपछि पूर्वाधार विकास कार्यक्रमले पुनः ६ महिनाको समय दिएको कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए।
'अहिले दुवैपट्टीको पिलरको काम सम्पन्न गरेर बिम र स्ल्याप ढलान गर्न फलामे डन्डी ठड्याउने काम भइरहेको छ', उनले भने, 'आगामी चैत मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौं ।' तोकिएको समयमा पुल निर्माण गर्न र गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने काम भइरहेको प्रदेशसभा सदस्य राजन राईले बताए ।
विसं २०६६ मा साबिक खार्मी गाविसको १४ लाख बजेटबाट निर्माण सुरु गरिएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपटक वडाको १० लाख रुपैयाँ र नगरपालिकाको १५ लाख बजेटमा स्तरोन्नतिको काम भइरहेको छ ।
सडक निर्माण भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डमा विगत ४ वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत सञ्चालन भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।
हिउँदभर करिब ६ महिनामात्र सञ्चालन हुने सो कच्ची सडक खार्मी,पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने काम भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी जाने सबैभन्दा छोटो मार्ग हुनेछ । रासस