काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवाती बढेको बिन्दुबाट पनि ओरालो लागेकाले बजार केही दिन घट्न सक्ने संकेत गरेको छ । कारोबार खुल्दा २८९८.६१ बिन्दुबाट उकालो लागेको नेप्से बजार बन्द हुँदा २८७६.७५ बिन्दुमा आइपुग्नुले बजार अझै घट्ने सक्ने संकेत गरेको हो ।
सरकारले स्थानीय चुनावको मिति जेठमा तोक्ने पक्कापक्की भएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको थियो । चुनाव हुने बित्तिकै बजारमा लगानीयोग्य रकम आउने र त्यसले सेयर बजारलाई सकारात्मक दिशातर्फ लैजाने भन्दै बजार उचालिएको हो ।
तर, साताको अन्तिम दिन बजार सुरुवाती चरणमा बढेर समय बित्दै जाँदा बजार पनि सोहीअनुरुप घट्दै गएको देखिन्छ । सुरुमा बढ्ने र बिस्तारै कारोबार बन्द हुँदा बजार पनि घटेरै बन्द हुने ट्रेन्ड समातेको देखिन्छ ।
सुरुवाती छनक हेर्दा बजारले उकालो ग्राफ समातेको थियो । तर, बजार बन्द हुँदा सूचक १४.५८ अंकले घटेर बन्द भएको छ । बजारमा लगानीयोग्य रकममा कुनै सुधार नभएपछि बजारमा त्यसको निरन्तर असर परिरहेको छ ।
चुनावले सेयर बजारमा पोजेटिभ भाइब्स दिन खोजे पनि त्यो टिक्न नसक्ने देखिन्छ । यद्यपि, बिहीबार सूचक घट्दा पनि कारोबारमा उत्साह देखिएको छ । यसदिन ८ अर्ब ६१ करोड रुपैयाँकाे कारोबार भएको छ । जबकि मंगलबार ६ अर्ब ५७ करोडको मात्रै कारोबार भएको थियो ।
केही दिनदेखि बैंकहरुले सामान्यभन्दा सामान्य कर्जासमेत दिन रोकेपछि बजारमा लगानीयोग्य रकमको चरम अभावको संकट नटरेकाे भन्दै लगानीकर्ता आत्तिएका छन् । त्यही भएर सेयर किन्ने भन्दा बेच्ने हाबी हुँदा बजार दोहोरो अंकले घटेर बन्द भएको हो ।
यसदिन ४५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३७ वटा कम्पनीको सेयर मूल्य घट्यो । बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यसैगरी ९ प्रतिशतभन्दा बढी मूल्य कारोबार हुने कम्पनीमा बुद्धभूमि हाइड्रो पावर रहेकाे छ ।
बिहीबार सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रो पावरको भएकाे छ । उसकाे कुल ८२ करोड ७० लाख काराेबार भएकाे हाे ।