काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा हालसम्म दुई जनाको प्रतिस्पर्धा हुने देखिएको छ । हालका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
फागुन २७ र २८ गते काठमाडौंमा हुने २३औं साधारणसभाबाट महासंघको नयाँ नेतृत्व चयन हुनेछ । यसअघि नै निर्वाचन गर्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना पछि धकेलिएको थियो । फागुन अन्तिममा हुने निर्वाचनका लागि आफ्नो पक्षमा नेतृत्व हात पार्न दौडधुप सुरु भएको छ ।
यसअघिको निर्वाचनमा पनि प्यानलसहित नै निर्वाचनमा होमिएको महासंघमा यसपटक पनि प्यानल बन्ने निश्चितजस्तै भएको एक सदस्यले जानकारी दिए ।
हालका वरिष्ठ उपाध्यक्ष पाण्डे अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । यस्तै अध्यक्ष सिंहले पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको बुझिएको छ ।
ठूला निर्माण कम्पनीहरुको चर्को विरोधमा उत्रिने सिंहलाई यसअघिको निर्वाचनमा तिनै ठूला कम्पनीहरुको साथ थियो । तर, यसपटक उनले ठूला निर्माण कम्पनीको साथ पाउने सम्भावना न्यून देखिन्छ ।
वरिष्ठ उपाध्यक्ष पाण्डे यसअघिकै निर्वाचनमा अध्यक्ष बन्ने दौडमा थिए । तर, ठूला कम्पनीका केही प्रतिनिधिहरुकै आग्रहमा एकपटक वरिष्ठमा बस्न आग्रह गरेपछि उनी पछि हटेका थिए ।
तर, २३ औं साधारण सभामा उनलाई ठूला निर्माण कम्पनीहरुका साथै जिल्ला शाखाहरुबाट पनि राम्रो साथ रहेको चर्चा महासंघभित्र हुन थालेको छ । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पाण्डे जिल्ला शाखाहरुको निर्वाचनमा समेत सक्रिय भएका थिए ।
यी हुन ‘सुपर सेभेन’ कम्पनी
महासंघभित्र ठूला निर्माण कम्पनी र साना कम्पनीबीच सधैं प्रतिस्पर्धा हुने गरेको छ । तर, निर्वाचनको परिणाम भने तिनै ठूला विषेशगरी १० वटा कम्पनी र त्यसभित्रका पनि ‘सुपर सेभेन’ कम्पनीहरुले होल्ड गर्दै आएका छन् ।
हालका टप टेन निर्माण कम्पनीभित्र शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, अनक कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र विरोध कन्ट्रक्सन पर्छन् । यीमध्ये पनि शर्मा, कालिका, लामा, तुन्दी, स्वच्छन्द, रमण र रसुवा हुन् । यीनै कम्पनीले आफूअनुकूलका व्यक्तिलाई नेतृत्वमा पठाउने गरेका छन् ।
सिंह र पाण्डे को हुन् ?
हालका अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन् । उनको कम्पनीले विषेश गरी पुल निर्माणको काम गर्दै आएको छ । नेपाली कांग्रेसनिकट सिंह गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारसमेत बनेका थिए । पार्टीको केन्द्रीय सदस्यमा हार बेहोरेपछि उनी एक कार्यकाल फेरि महासंघको राजनीतिमा फर्कने तयारी गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डे भने कालिका कन्ट्रक्सनका सञ्चालक हुन् । कालिका नेपालको ‘ए’ लेभलको कम्पनी मानिन्छ । उनको कम्पनीले सडक, भवनदेखि हाइड्रोपावरको कामसमेत गरेको छ । सो कम्पनीले केही वर्षअघि अमेरिकामा समेत निर्माण कार्य अघि बढाएको थियो ।
राजनीतिक रुपमा पाण्डे प्रत्यक्ष रुपमा कुनै पनि पार्टीसँग निकट नभए पनि उनका बुवा विक्रम पाण्डे भने राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।
केही महिनाअघि मात्र सम्पन्न निर्वाचनबाट पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।