काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को इतिहासमा सरकारले पहिलोपटक वरिष्ठता मिचेर कनिष्टलाई महानिर्देशकमा नियुक्त गरेको छ ।
प्राधिकरणको १२औं तहका ६ जना उपमहानिर्देशकलाई पन्छाएर विवादित निर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले महानिर्देशक बनाएका हुन् ।
पटक-पटक विवादमा परेका मन्त्री आलेले फेरि अर्का विवादित व्यक्तिलाई नियुक्त गरेका छन् । यद्यपि, अधिकारीको नियुक्तिको विषयमा आधिकारिक रुपमा सरकारले जानकारी गराएको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई महादिर्नेशकमा नियुक्त गरेको भनिए पनि मंगलबार मन्त्रिपरिषदका निर्णय सुनाउँदा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा जानकारी दिएनन् ।
सोमबारको मन्त्रिपरिषदमा सहभागी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महानिर्देशक नियुक्तिका लागि औपचारिक प्रस्ताव नआएको जानकारी दिइन् ।
‘औपचारिक रुपमा मन्त्रिपरिषदको बैठकमा महानिर्देशक नियुक्तिको विषयमा कुनै प्रस्ताव आएको छैन’ मन्त्री झाँक्रीले भनिन्, ‘सायद मैले थाहा नपाउने गरी नियुक्त भएको निर्णय हुन सक्छ ।’ यता पर्यटन मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डे आफू केही दिनदेखि बिदामा रहेको र अधिकारीको नाम सिफारिस भएको हल्ला भने सुनेको बताए ।
अख्तियारदेखि सम्पत्ति शुद्धीकरणसम्म उजुरी
मन्त्री आलेले वरिष्ठता मिचेर महानिर्देशक बनाएका अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको छ ।
इन्जिनियर विभागमा कार्यरत अधिकारीले क्यानका तीनवटा राष्ट्रिय गौरवका आयोजनाहरु र सिभिल इन्जिनियरिङ विभाग प्रमुख भएर रहँदा विभिन्न विमानस्थलमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियार र सम्पति शुद्धीकरणमा उजुरी परेको हो ।
उनीमाथि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानुनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ ।
निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीभन्दा पहिले छुट्टाछुट्टै आयोजना प्रमुख रहने गर्थे । तर, शक्ति केन्द्रको आडमा उनी तीनवटै आयोजनाको एकीकृत संगठन बनाई आयोजना प्रमुख बनेका थिए ।
अधिकारीले जिम्मेबारी लिएका सबै आयोजना ढिलाइ
महानिर्देशक अधिकारीले जिम्मेबारी लिएका अधिकांश आयोजनाहरु ढिलाइ भएको छ । भैरहवामा निर्माणको अन्तिम चरणमा भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको मिति धेरै पटक सार्वजनिक गरिसकेका छन् ।
अधिकारीले ढाँटेर विमानस्थल आयोजनाको काम सम्पन्न हुने मिति सरकारको नीति तथा कार्यक्रममा घोषणा गर्न लगाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममा २०१९ भित्र गौतमबुद्ध विमानस्थल सम्पन्न गर्ने घोषणा गरेकी थिइन् । तर, अहिलेसम्म सो आयोजनाको काम सकिएको छैन ।
यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ढिलाइ भइरहेको छ भने निजगढ विमानस्थलको कामनै अगाडि बढाउन सकेको छैन।