काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा वरिष्ठ (सिनियर) लाई पन्छाएर कनिष्ठ (जुनियर) लाई नियुक्ती गर्न लागेका छन् ।
यसअघि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा स्वच्छ छवि नभएका युवराज अधिकारीलाई नियुक्त गरेको भन्दै विवादमा परेका मन्त्री आलेले फेरि प्राधिकरणमा ११ औं तहका निर्देशक प्रदिप अधिकारीलाई महानिर्देशक बनाउने तयारी थालेका हुन् ।
प्राधिकरणमा १२ औं तहका उपमहानिर्देशकहरुलाई महानिर्देशकमा नियुक्ती गरिदै आएको छ । तर, पर्यटनमन्त्री आलेले भने त्यसलाई उल्टाएर १२ औं तहका ६ जना उपमहानिर्देशकहरुलाई पन्छाएर ११ औं तहका इन्जिनियर अधिकारीलाई महानिर्देशक बनाउन लागेका हुन् ।
राजुकमार क्षेत्रीको उमेर हदका कारण अवकाश प्राप्त गरेपछि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्तीका लागि मन्त्री आलेले मन्त्रिपरिषदको बैंठकमा प्रस्ताव लैजान लागेका छन् । यता अधिकारीले भने केही व्यक्तिहरुसँग आफु महानिर्देशक भइसकेको जानकारी गराउँदै आएका छन् ।
तर,मन्त्रालयले उनको नियुक्तीका लागि सिफारिस गरिएको विषयमा सार्वजनिक गरेका छैनन् । मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डेले आफु विदामा रहेको बताउदै अधिकारीको नाम सिफारिस भने भएको हल्ला सुनेको बताए ।
क्षेत्रीले प्राधिकरणको नियमावलीमा महानिर्देशकको पद ४ वर्षको रहने भन्दै मुद्धा दायर गरेपछि सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशसमेत दिएको छ । तर, महानिर्देशक क्षेत्री भने हालसम्म प्राधिकरणमा हाजिर भएका छैनन् ।
पर्यटन मन्त्रालयले भने निमित्त महानिर्देशकमा १२ औं तहका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई जिम्मेवारी दिएका छ । प्राधिकरणमा सिनियर उपमहानिर्देशकहरुमा भोला गुरागाई र प्रतावबाबु तिवारी हुन् । त्यसपछि भने निमित्त महानिर्देशक ठाकुरसँगै हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण र गोविन्द दाहाल छन ।
सर्वोच्च अदालतमा मुद्धा विचारधिन रहेकै बेला मन्त्री आलेले भने महानिर्देशकमा अधिकारीलाई नियुक्तीका लागि प्रक्रिया अगाडी बढाएको मन्त्रालय स्रोतको भनाई छ । मन्त्री आलेले सोमबारको मन्त्रिपरिषद बैठकमा महानिर्देशकका लागि प्रस्ताव लैजाने तयारी गरेर पनि अन्तिम समयमा रोकिएको स्रोतले जानकारी दियो । महानिर्देशकको रुपमा अधिकारीलाई नियुक्तीका लागि मन्त्रालयका सचिव महेश्वर न्यौपानेसमेत सकरात्मक छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला न्यौपाने गृहसचिव थिए । अहिले पर्यटन मन्त्रालयमा एमाले नेता महेश बस्नेतको लविङमा आएको र उनकै डिजाइनमा अधिकारीलाई महानिर्देशक बनाउन लागेको स्रोतको दाबी छ ।
केहि समय अघिसम्म पर्यटनमन्त्री आले अधिकारीसँग रुष्ट थिए । तर, पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढामार्फत पर्यटनमन्त्री आलेलाई राजी गराएर महानिर्देशक बनाउन तयार भएको बताइएको छ । पूर्वमन्त्री बुढा र पर्यटनमन्त्री आले एकैपटक नेकपा एमाले छोडेर समाजवादीमा आएका हुन् ।
उनिहरु व्यवसायीक साझेदारसमेत रहेको बताइन्छ । त्यति मात्र हैन,पार्टीमा उनिहरुबीच आलोपालो मन्त्री बन्ने सहमतिसमेत भएकोले अधिकारीलाई महानिर्देशक बनाएर अघि बढ्ने प्रस्ताव स्वीकार गरेको हुन सक्ने मन्त्रालयका एक सहसचिवले क्यापिटललाई जानकारी दिए ।
मन्त्री आले र बुढा निर्माण व्यवसायीसमेत हुन् । उनले अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत निर्माणको जिम्मा लिएका छन् । अधिकारीलाई महानिर्देशक बनाउन सके सो विमानस्थलमा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ लागतको अर्को टर्मिनल भवनको ठेक्का हात पार्ने दाउसमेत पूर्वमन्त्री बुढाको रहेको बुझिएको छ ।