काठमाडौं । पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले नेपाल राष्ट्र बैंकले गैरकानूनी मानेको क्रिप्टोकरेन्सी तथा त्यससँग सम्बद्ध हाइपर फन्डमा लगानी बढाउँदै लगेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट पनि धेरै नेपालीहरुले यसमा लगानी गरेको हुनसक्ने देखिएको छ । खासगरी, सेयर बजारमा सक्रिय रहेका लगानीकर्ता र आइटीमा पोख्तहरुले यसमा लगानी बढाएका हुन सक्ने प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
क्रिप्टो तथा हाइपर फण्डमा विदेशमा काम गर्न गएका नेपालीको पनि लगानी बढ्दै गएको छ । नेपालका धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनी, आइटीमा पोख्त र लगानीकर्ताले मात्रै ४० अर्ब माथि लगानी गरेको आशका गर्न थालिएको छ ।
भित्रभित्रै क्रिप्टोकरेन्सीमा लगानी भुसको आगो जसरी फैलिएको छ । यसलाई नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउन खोजे पनि त्यो असम्भव देखिन्छ । चीन र भारतले प्रतिबन्ध लगाए पनि ठूलो लगानी यस क्षेत्रमा भइरहेको छ र त्यसलाई रोक्न सकेका छैनन् ।
क्रिप्टोकरेन्सी कारोबारलाई राष्ट्र बैंकका अधिकारीहरूले पूर्णरूपमा गैरकानूनी भन्न सकेका छैनन्, गैरकानूनी कामसरह मात्रै भनेर प्रतिक्रिया दिएको पाइन्छ ।
क्रिप्टोकरेन्सी कुनै आधिकारिक संस्थाले प्रवाह नगरेको हुँदा यसबापतको भुक्तानी कसैले पनि दिँदैन । फलतः लगानी शून्यमा झर्न पनि सक्छ । तर पनि विश्वभर क्रिप्टोकरेन्सीको कारोबार बढ्दो छ । एल सल्भाडोरले यसलाई कानुनी मान्यता नै दिएको छ । अमेरिका लगायतका विकसित मुलुकमा यो मुद्रासरह नै प्रयोग भइरहेको पाइन्छ । कतिपयले क्रिप्टोलाई आगामी युगको मुद्रा भनेर भन्न थालेको पनि पाइन्छ ।
जसरी वस्तु विनिमयको युगमा कुनै वस्तुलाई पैसासरह मानेर काम गर्न थालियो अहिले क्रिप्टो त्यस्तै मानिन थालेको छ । यस्तोमा नेपाल राष्ट्र बैंकले यसलाई रोक्न सक्ने देखिँदैन । यो नियामक निकायको नियमनभन्दा बाहिर गएर स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने डिजिटल भुक्तानीका रूपमा प्रचलनमा छ । यसले कुनै अपराध नगर्ने भएकाले यसमा रोक लगाउनुको अर्थ नभएको कानूनविद्हरूको भनाइ छ ।
क्रिप्टोका फाइदा पनि छन् । खासगरी यसको माइनिङ गर्दा नेपाललाई खासै नोक्सान हुने देखिन्न । विद्युत् खपत पनि यसले बढाउने भएकाले मुलुकले यसमा पूर्ण प्रतिबन्ध लगाइहाल्नु हुँदैन भन्ने पनि एकथरीको मत छ ।
क्रिप्टोकरेन्सीको लोकप्रियताका कारण मौद्रिक प्रणाली नै राज्यको नियन्त्रणबाहिर जान सक्ने चुनौती देखिएपछि विश्वका केन्द्रीय बैंकहरूले आफै डिजिटल मुद्रा निकाल्ने तयारी गरेका छन् ।
क्रिप्टोकरेन्सीका बारेमा विवाद भए पनि नेटवर्किङ प्रकृतिको क्रिप्टो छ भने त्यसलाई रोक्नुपर्छ । किनभने पिरामिड शैलीको नेटवर्किङमा धेरै जनता फस्ने सम्भावना हुन्छ । सर्वसाधारण फस्ने खालको काममा भने रोक लगाउनु अनिवार्य नै हुन्छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई अहिले बजारमा देखिएको तरलता अभावसँग पनि जोडेर हेरेको छ । विप्रेषणमा आप्रवाहमा आएको कमीले पनि कतै नेपाल आउनुपर्ने रकम क्रिप्टो र हाइपरफन्डहरूमा गइरहेको त छैन भनेर राष्ट्रबैंकले यसमा लगानी गैरकानुनी भएको सूचना दिएको देखिन्छ ।
विप्रेषण रकम अन्यत्र लगानी भइरहेको छ र त्यसले अर्थतन्त्रमा असर पारेको छ भने त्यसैअनुसार नीति बनाउनु राष्ट्र बैंककै कामभित्र पर्छ । क्रिप्टोमा लगानी गरेर नाफा कमाएँ भन्नेहरू समाजमा देखिएको हुँदा त्यसकै सिकोमा अरूले पनि लगानी गर्न थालेको पाइन्छ । त्यस्तै अवस्था हाइपर फन्डमा पनि छ ।