काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जेठ ४ मा स्थानीय तहको निर्वाचन तोक्ने सम्भावना बढेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ ।
अन्यौलताबीच सरकार गठबन्धनबीच जेठमा निर्वाचन गर्ने सहमति भएपछि आइतबार १०५ अंकले सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको थियो । यद्यपि, १०० अंक बजार बढ्दा पनि कारोबार रकम भने खासै उत्साह आएको थिएन ।
तर, सोमबार १४ अंकले बजार ओरालो लागेको थियो । तर, मंगलबार भने बजारमा सकारात्मक प्रभाव परेको छ । सरकारले जेठ ४ मै स्थानीय तहको चुनाव गर्ने सहमति नजिक पुगे पछि त्यसको असर बजारमा परेको हो ।
बजारमा लगानीयोग्य रकमको चरम अभाव भएका बेला पनि सेयर बजारमा उत्साह छाएको छ । अहिले बैंकहरु लगानी गर्न सक्ने अवस्थामा छैनन् । माघ १ गतेबाट कर्जाको ब्याज बढिसकेको छ । सरकारले पुँजीगत खर्च सोचेअनुरुप गर्न सकेको छैन । तैपनि चुनावी हल्लाले बजार उचालिएको छ ।
यदि स्थानीय तहको चुनाव भएको अवस्थामा २० अर्ब सरकारी रकम बाहिर निस्किने र अनौपचारिक रुपमा राखिएको रकम पनि सिष्टममा आउने अपेक्षासहित बजारमा उत्साह आएको देखिएको छ ।
अहिलेको योजनाअनुसार काम भएमा आगामी जेठभित्र स्थानीय तहको निर्वाचन हुनेछ । निर्वाचनका बेला राजनीतिक दल तथा उम्मेदवारहरुले मनग्ये खर्च गर्ने भएकाले बजारमा तरलता बढ्ने अनुमान गरिएको छ । यस्तै, बजार बुल रनमा रहेकाले पनि करेक्सनपछि नेप्से स्वाभाविक गतिमा पुनः अघि बढेको विश्लेषणहरु पनि भइरहेका छन् । यतिबेला दोस्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक भइरहेका छन् ।
औसतमा कम्पनीहरुको नाफा वृद्धि भएको छ । बैंकहरुले पनि नाफा बढाएका छन् । सूचीकृत अरू समूहहरुको पनि नाफा बढेको छ । यसको सकारात्मक प्रभाव पनि बजारमा देखिएको विश्लेषकहरु बताउँछन् । यसैगरी, यसअघि बजारले ठूलो करेक्सन सामना गरिसकेकाले पनि अब सामान्य गिरावटहरुका बाबजुत बजार उकालो यात्रामा लाग्ने अनुमान गरिएको छ । दोस्रो त्रैमासपछि सरकारी खर्च बढ्दै जानेक्रममा रहेको छ ।
यसले वित्तीय प्रणालीमा तरलता सहज बनाउनेछ । यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिने अनुमान गर्न सकिन्छ । लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिँदै सोहीअनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।
मंगलबार सूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दूमा पुगेको छ । यसदिन कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार ६ अर्ब ५७ कराेडकाे सेयर किनबेच भएकाे छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ भएको थियो । आइतबार ६ अर्ब माथि मात्रै कारोबार भएको थियो ।