काठमाडौं । सेञ्चुरी बैंकको मर्जमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अस्वाभाविक चासो दिएको खुलेको छ ।
सेञ्चुरी बैंक प्रभुसँग मर्ज हुने गरी सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेका बेला ढकालले माछापुच्छ्रे मर्जमा जानभन्दै केही सञ्चालकलाई दबाब दिएको सेन्चुरीका एक सञ्चालकले क्यापिटल नेपाललाई बताए ।
ढकालले सेञ्चुरी बैंकका सञ्चालक रमेशकुमार निरौलालाई उचालेर जुनसुकै हालतमा माछापुच्छ्रे बैंकसँग मर्ज गराउन लागिपरेको भन्दै बैंकका सञ्चालकबीच नै द्वन्द्व सिर्जना भएको छ ।
सुरुमा सेञ्चुरीले माछापुच्छ्रेसँग मर्जका लागि छलफल अघि बढाएको थियो । माछापुच्छ्रे पनि सेञ्चुरीलाई १०० बराबर ७५ अफर गरेको थियो । माछापुच्छ्रेले पछि ८० दिन राजी भएको थियो । माछापुच्छ्रे, ग्लोबल र प्रभुसँग मर्जको लागि छलफल गरेको सेन्चुरीलाई प्रभुले ८५ दिएको निरौलाले नै मर्जर समितिमा जानकारी दिएका थिए ।
निरौला यसअघि माछापुच्छ्रेकै सञ्चालक रहेको र माछापुच्छ्रेका अध्यक्षसँग निकट रहेको र काम गर्न सजिलो हुने भन्दै ८० दिए पनि माछापुच्छ्रेसँग मर्ज हुनुपर्ने प्रस्ताव राखेपछि सेन्चुरीका सञ्चालकबीच विवाद सिर्जना भएको हो ।
राष्ट्र बैंकका ढकालको दबाबमा सेञ्चुरी माछापुच्छ्रेसँगै मर्ज गराउनुपर्ने बाध्यता रहेको भन्दै निरौलाले टिममा बताएपछि ढकालको अस्वाभाविक चासो बाहिरिएको हो ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक ढकालले आफूले सेञ्चुरी बैंकको मर्जका बारेमा कुनै चासो नलिएको प्रतिक्रिया क्यापिटल नेपाललाई दिए । हामीले चासो लिन पनि मिल्दैन । कुनै सञ्चालक वा बैंकलाई याेसँग मर्ज गर्नुस् भनेर भन्न पनि मिल्दैन्,’ ढकालले भने, ‘बैंकले नै जोडी खोज्ने हो । टुंगोमा पुगे पनि मात्रै केन्द्रीय बैंकलाई जानकारी गराउँछन् । त्यसपछि मात्रै केन्द्रीय बैंकलाई जानकारी हुन्छ ।’
उसो त निरौला यसअघि माछापुच्छ्रे बैंकका पनि सञ्चालक थिए । हाल सेञ्चुरी बैंकमा सञ्चालक छन् । उनै निरौलाले दोहोरो चरित्र देखाएर मर्ज भाड्न खोजेको बैंक भित्रका कर्मचारीले बोर्डलाई जानकारी गराएका छन् ।
निरौलाको कार्यकारी निर्देशक ढकालसँग गहिरो सम्बन्ध छ । त्यही भएर ढकालले पनि निरौलालाई हातमा लिएर प्रभुसँग मर्ज भाँडेर माछापुच्छ्रेसँग गराउन खोजेको ढकालमाथि आरोप छ ।
नियामक निकायका जिम्मेवार पदाधिकारीले कुन बैंक कोसँग मर्ज हुनुपर्छ भनेर अनावश्यक चासो लिँदा राष्ट्र बैंकमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले यस्तो विषयमा भित्र बाहिर चासो राख्नु गलत भएको एक निर्देशकले क्यापिटल नेपालाई बताए ।