क्वालालम्पुर, मलेशिया । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष भवन भट्टले पर्यटन, कृषि र ऊर्जामा लगानी विस्तार गर्न आह्वान गरेका छन् । उनले नेपालले पर्यटन, कृषि र जलस्रोतको विकासबाट लाभ लिन सक्ने बताउँदै यसमा लगानी गर्नका लागि आह्वान गरेका हुन् ।
क्वालालम्पुरमा आइतबार सुरु भएको गैरआवासीय नेपाली सङ्घ मलेशियाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै यी प्रमुख ३ क्षेत्रमा लगानी गर्नका लागि एनआरएनले १० अर्ब रुपैयाँको लगानी कोष गठन गर्न लागेको बताए । पर्यटनका प्रोडक्ट बनाएर बिक्री गरेमा नेपालले पर्याप्त मात्रामा विदेशी मुद्रा आर्जन गर्नुका साथै रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।
क्यानाडाबाट दाल आयात गरेर बङ्गलादेशसम्म निकासी भइरहेको भन्दै नेपाललाई कृषिमा अर्गानिक बनाउन सके यस क्षेत्रले फड्को मार्ने उनको भनाइ छ । उनले नेपालमा पर्याप्त जलस्रोतको सम्भावना भएकाले पर्याप्त बिजुली उत्पादन गरी आयात प्रतिस्थापन गर्न सक्ने स्पष्ट पारे ।
उनले आगामी अक्टोबरमा काठमाडौंमा हुने एनआरएन सम्मेलनमा अध्यक्षको उम्मेदवारी नदिने स्पष्ट पारे । साथीहरु सबल र सक्षम भइसकेकाले आफूले अध्यक्षमा उम्मेदवारी नदिने स्पष्ट पारेका हुन् ।
एनआरएनका उपाध्यक्ष कुमार पन्तले महासचिव हुँदै २ कार्यकाल उपाध्यक्ष भएकाले आफू अध्यक्षको स्वतः दाबेदार भएको बताए । उनले आगामी अक्टोबरमा काठमाडौंमा हुने सम्मेलनमा अध्यक्षमा उम्मेदवारी दिने सङ्केत गरे ।
उनले नेपालमा दक्ष कामदार उत्पादन गर्नका लागि व्यावसायिक तालिम आवश्यक भएको बताए । पन्तले तालिम दिएर नेपाल दक्ष कामदार आपूर्ति गर्ने मुलुुक बन्नु पर्ने आवश्यकता पनि औंल्याए । साना लगानीकर्तालाई समेटेर एनआरएनले १० अर्ब रुपैयाँको कोष गठन गरेको उनले सुनाए ।
एनआरएनका अर्का उपाध्यक्ष कुल आचार्यले गोरखाको लाप्राकमा वस्ती बसाउने काम अन्तिम चरणमा पुगेको, यूएन पार्क बनाएर ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
एनआरएन आईसीसीका सदस्य तथा आर्ईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विदेशबाट सिकेको सीप नेपालमा प्रयोग हुनुपर्नेमा जोड दिए । सीपको विकासमा नेपालले लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
एनआरएन मलेशियाका अध्यक्ष खगेन्द्र पन्तलगायत पदाधिकारीले आआफना विचार व्यक्त गरेका थिए । अधिवेशनले आगामी २ वर्षका लागि हरि भट्टराईलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको छ ।