काठमाडौं । दोलखाको कालिञ्चोकमा सञ्चालित कालिञ्चोक केबलकारले १२ करोड रुपैयाँ लगानी थप्ने भएको छ । ५२ करोड लगानीमा सञ्चालित सो केबलकारमा १२ करोड रुपैयाँ लगानी थप्ने निर्णय भएको केबलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिए ।
कालिञ्चोक दर्शन लिमिटेडद्धारा २०७५ कात्तिकदेखि सञ्चालित सो केबलकारमा लगानी विस्तारका लागि आयोजना प्रभावित स्थानीयहरूसहित सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको अध्यक्ष शिवाकोटीले बताए ।
आईपीओबाट जम्मा भएको रकमले केवकारमा गोण्डुला थप्नेदेखि स्टार लेभलको होटल सञ्चालन गर्ने निर्णय भएको छ । ४५ वटा कोठा रहने प्रस्तावित सोे होटल स्टार लेभलको हुनेछ । होटलमा कति लगानी गर्ने भन्ने विषयमा अध्ययन भइरहेको बताउदै सम्भव भएसम्म नयाँ वर्ष २०७९ को वैंशाखबाटै निर्माण थाल्ने उनले बताए ।
कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शिवाकोटीले कम्पनीले १२ करोड रुपैयाँबराबरको १०० अंकित दरका १२ लाख कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको जानकारी दिए ।
नेपालकै तेस्रो केबलकार कालिञ्चोकमा मझौला व्यवसायीहरुको लगानी रहेको छ । सो केवलकारमा एक पटकमा ४० जनाले यात्रा गर्छन् । दोलखाको प्रमुख धार्मिक स्थल कालिञ्चोकमा सञ्चालित सो केवलकारमा हाल ४ वटा गोण्डुला सञ्चालनमा रहेको छ ।
पर्यटकहरुको आगमन तिव्र भएसँगै केवलकारमा थप २ वटासम्म गोण्डुला थप गर्ने कम्पनीको योजना रहेको छ । धेरैभन्दा धेरै भक्तजनहरुले सेवा लिने अवसर प्राप्त गरोस भन्ने उद्धेश्यका साथ गोण्डुला थप्न लागेको सीईओ शिवाकोटीको भनाई छ ।
सम्भव भए कालिञ्चोकमै र नभए त्यस आसपासमा सुविधासम्पन्न होटल निर्माण गर्ने निर्णयसमेत कम्पनीले गरेको छ । सोहीअनुसार प्रक्रिया अगाडी बढाएको उनको भनाई छ ।
पछिल्लो समय कालिञ्चोक क्षेत्रमा सुविधासम्पन्न होटलहरु निर्माण हुने क्रमले तिव्रता पाएको छ । हुन त, कालिञ्चोक दर्शनले यस अघिनै केबलकारसँगै होटल निर्माण गर्ने योजना अघि सारेको थियो । स्थानीयहरुको चर्को विरोधका कारण व्यवसायीहरुले केवलकार मात्र सञ्चालन ल्याएका हुन । होटलको योजनालाई थाति राखेका थिए ।