काठमाडौं । सत्ताधारी राजनीतिक दलहरूबीच जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति जुटेसँगै साताको पहिलो दिन आइतबार सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ ।
गत बिहीबार २७८० मा रोकिएको नेप्से सूचक कारोबार सुरु गरेको ८ मिनेटमै आइतबार ९८ अंकले बढेर २८७६ चढेको थियो । लगतै करेक्सनको बाटो समाएको सूचक २८४४ अंकसम्म झर्यो । त्यसपछि फेरि बढ्न थालेको बजारमा सामान्य घटबढ हुँदै मध्य समयतिर २८४३ सम्म झर्यो ।
तर, त्यसपछि उकालो लागेको बजार पछि फर्किएन र १०५.५५ अंकले बढेर २८८५.५३ अंकमा बन्द भयो ।
आइतबारको कारोबार प्रवृत्ति र कारोबार रकममा देखिएको सुधार र लगानीकर्ताहरूमा देखिएको उत्साहले सोमबार पनि सूचक माथि जाने संभावना प्रवल छ । आइतबार ४ वटा कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १९० कम्पनीको मूल्य बढेको छ ।
१०० अंक बढेको बजारमा मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य भने सामान्य घटेको छ । यसअघि मंसिर २७ मा २२५९ अंकबाट उकालो लागेको बजार गत साता स्थानीय तहको निर्वाचन नहुने हल्लासँगै बजार ओरालो लागेको थियो । गत साता ४ दिनमा करिव १५५ अंक घटेको बजार अन्तिम दिन बिहीबार ३ अंकको सुधार देखिएको थियो ।
तर, शनिबार राजनीतिक दलहरूबीच जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बाहिर आएसँगै आइतबार कारोबार रकम र सूचकमा वृद्धि देखिएको हो । सतहमा यावत् समस्याहरू कायम रहे पनि निर्वाचनको हल्लाले बजारलाई सकरात्मक दिशा दिएको छ ।
यद्यपि तरलता संकट, उच्च आयात वृद्धिले भुक्तानी सन्तुलनमा समस्या, पुँजीगत खर्च न्यूनतमको स्थिति कायमै, रेमिट्यान्स आप्रवाहमा कमी, ओमिक्रोन संक्रमणको स्थितिमा अझै सुधार नआएका जस्ता प्रतिकूल स्थितिमा बजारले छलाङ मारेको छ । तथापि उपत्यकाका सार्वजनिक सवारीमा लागू भएको जोरबिजोर प्रणाली भने खारेज भएको छ ।
लगानीकर्तामा सकारात्मक मनोभाव विकास हुँदा आइतबार कारोबार रकममा पनि सुधार देखिएको छ । गत बिहीबार ३ अर्ब २५ करोडमा खुम्चिएको सेयर कारोबार आइतबार झन्डै दोब्बरले बढेर ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
यता आइतबार कारोबार रकममा जलविद्युत कम्पनीहरूमा उछाल देखिएको छ । ५ उच्च कारोबार मध्ये ४ वटा जलविद्युत समूहका छन् । अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सबैभन्दा कम युनिलिभर नेपाल लिमिटेडको ११ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।