तनहुँ । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्रे सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्रे गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।
सामाजिक सञ्जालमा सो सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयवासीसमेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए।
“शनिबार मात्र तनहुँसुरमा २ हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो”, उनले भने ।
तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । सो मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्रे, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो । अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्रे भएको छ ।
कुल १० करोड रुपैयाँको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले ७ करोड ५१ लाख रुपैयाँमा कालोपत्रे र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।
कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ । साे सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नं १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ । साे समितिमा ४ सदस्य र एक परामर्शदाता छन् । रासस