दोलखा । वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिन–प्रतिदिन बढ्दो छ । यसरी दैनिक हजारौैंको संख्यामा मातृभूमि छाड्ने युवाहरुका आ–आफ्नै कथा–व्यथा छन् ।
कतिपय युवाहरु देशमा केही गर्ने सीप, क्षमता नभएपछि विदेशिन्छन् भने केही भने सीप, क्षमतादि सबै भएर आफ्नै गाउँ–ठाउँमा केही इलम गर्ने मन हुँदाहुँदै पनि पर्याप्त मात्रामा लगानी (पुँजी) नभएपछि विदेशिइरहेका हुन्छन् । त्यही भीडमा अलि फरक भेटिन्छन्, शान्त जिरेल ।
जिरेलले लाखौं रुपैयाँ तिरेर विदेश जानुभन्दा स्वदेशमै लगानी गरी उद्यमी बन्ने सोच लिए । उनको यो सोचले नै उनी अहिले करोडौंका मालिक बनेका छन् । र, युवाहरुको उदाहरणीय व्यक्ति पनि ।
भनिन्छ नि, हजारौं माइलको यात्रा पनि एउटा पाइलाबाट सुरु हुन्छ । उनले त्यही सुरुवाती पाइला चाल्ने कोसिस गरे । जसअनुसार २०६६ सालमा दोलखा बजारमा २५ हजार रुपैयाँ लगानी गरी १०० वटा कुखुरा पाले । त्यति बेला २५ हजार पनि ठूलै रकम थियो ।
पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका जिरेलले दैनिक गुजारा गर्न भनेर जिल्लाकै जनहित सहकारीमा जागिर खान्थे । काम थियो, पैसा संकलन गर्ने । गाउँ क्षेत्रपाबाट प्लस टु अध्ययनका लागि सदरमुकाम चरीकोटमा आएका उनको तलब थियो, २५०० रुपैयाँ । जागिरसँगै बिहान बेलुका कुखुरा स्याहार्दै आएका जिरेलका बुबा भारतमा ज्याला मजदुरी गर्थे ।
पहिलो र सानो व्यवसाय कुखुरा पालनबाटै २६ हजार रुपैयाँ नाफा कमाएपछि उनी दंग परे । अब उनको ध्यान जागिरभन्दा व्यवसाय तिर मोडियो ।
जागिर गरिरहेकै बेला व्यवसाय विस्तार गर्दै आएका जिरेलले एक वर्षको अन्तरालमा बुवालाई समेत साथमै राख्ने निधो गरे । अनि सहकारी र व्यक्तिसँग ऋण लिए । र, सदरमुकाम चरीकोटमा १० रोपनी जग्गा लिई बंगुर, कुखुरा र माछापालन सुरु गरे । कुनै बेला २५ हजार लगानीमा कुखुरा पालन गरेका उनले यसमा २५ लाख लगानी जुटाए । त्यसपछि जिरेलले कहिल्यै पछि फर्कनु परेन ।
व्यवसाय विस्तार हुँदै गएपछि उनले सहकारीको जागिर छाडे । अहिले आफैंले प्रत्यक्ष रुपमा ७ जनालाई रोजगारी दिएका छन् । अप्रत्यक्ष रुपमा रोजगारी पाउनेहरु पनि धेरै छन् ।
हाल उनले सदरमुकाम चरीकोटमै डेढ करोड रुपैयाँ लगानी गरेर किस्मत होटल सञ्चालन गरेका छन् । यस्तै सोही नामको फार्मलाई पनि निरन्तरता दिँदै आएका छन् । बंगुर, कुखुरा पाल्दै आएका जिरेलले केही वर्षअघि हिमाली परियोजनाबापत अनुदानसमेत पाएका थिए ।
जिरेल आफू त राम्रो आम्दानी गर्ने व्यवसायी बने, बने । आफूसँगै अरुलाई पनि व्यवसायमा लाग्न उत्प्ररेणा दिन थालेका छन् । अहिले उनले गाउँ–गाउँमा कृषकहरुलाई कुखुरा पालनका लागि चल्ला र दाना दिँदै आएका छन् । बजार अभावले समस्यामा परेका कृषकहरुलाई सहज रुपमा बजार दिलाउन आफ्नै मासु पसलसमेत सञ्चालन गर्दै आएका छन् ।
त्यसो त उनले मासु पसल सुरुदेखि नै गर्दै आएका थिए । तर, यसमा कारण छ । कारण के भने, आफैंले उत्पादन गरेका कुखुराले राम्रो मूल्य नपाएपछि उनले चरीकोटमै किस्मत मासु पसल सञ्चालन गरेका हुन् । मासु पसलबाट मात्रै दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् । सोही पसलमा अन्य कृषकका कुखुरासमेत बिक्री गर्दै आएका छन् ।
‘व्यवसाय गर्ने सोच भएकाहरुलाई ठूलो लगानी छैन भन्दै आत्तिन हुँदैन’, जिरेलको सुझाव छ, ‘इच्छा र चाहना भएकाहरुलाई लगानी कहिल्यै पनि बाधक हुँदैन ।’
३१ वर्षकै उमेरमा सफलता चुमेका उनले आफ्नो परियोजनालाई अझै विस्तार र परिष्कृत गर्दै लैजाने सोच राखेका छन् । कृषि पेसालाई व्यावसायिक रुप दिएका उनको पुँजी अहिले ३ करोड रुपैयाँबराबरको छ ।