काठमाडौं । व्यवसायिक घरना आइएमई ग्रुपले देशभरी नै केबलकार निर्माण थालेको छ । ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार एक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
अहिले केबलकार निर्माणको काम धमाधम भइरहेको ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले २०७९ पुससम्म केबलकार निर्माण सम्पन्न हुने जानकारी दिए ।
बुटवलदेखि पाल्पासम्मको केबलकारको लम्बाई ३ किलोमिटर रहेको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
केबलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शनिबार शिलान्यास गरेका थिए । केवलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेछ ।
बुटवल उपमहानगरपालिका ३ बमघाटमा केबलकारको तल्लोस्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, बसन्तपुर डाँडामा टपस्टेशन तथा होटल कम्प्लेक्स निर्माण हुने भएको छ ।
वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरु निर्माण गरिने योजना लुम्बिनीको छ ।
१० मिनेटको यात्रामै तराई र पहाड अनुभव तथा हिमाली दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाई छ । बटम स्टेशनदेखि टपस्टेशन अर्थात वसन्त डाँडामा पुग्न १० मिनेट लाग्नेछ । मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्नेछ ।
गोण्डालाको संख्या २४ रहने छ । केवलकार टावर ९ वटा हुने कम्पनीले जनाएको छ । केवलकारको अन्तर्राष्ट्रिय केवलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ । अन्तर्राष्ट्रियस्तरको केवलकार बनाउन कम्पनीसँग सम्झौता भइसकेको लुम्बिनीले जनाएको छ ।
प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजना केवलकारको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ७ वटै प्रदेशमा केवलकार सञ्चालनमा ल्याउने घोषणा गरेका छन । सोही घोषणाअनुसार उनले लुम्बिनीमा केवलकार सञ्चालनका लागि पूर्वाधार बनाउन थालेका हुन ।
यस्तै आईएमई ग्रुपको अगुवाइमा काठमाडौंको चन्द्रागिरीमा पनि रिसोर्टसहितको केवलकार सञ्चालनमा आइसकेको छ । सोही ग्रुपको लगानीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जान केबुलकार निर्माण सुरु भएको छ ।
मौलाकाली केबुलकार कम्पनीले आगामी १ वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । केबलकार बनाउन डेढ अर्ब लगानी हुने कम्पनीले जानकारी दिएको छ ।
यो पनि हेर्नुहोस
आइएमई ग्रुपको अगुवाइमा लुम्बिनी केवलकार, साढे ३ अर्ब लगानी, २ वर्षमा सञ्चालनमा आउने