काठमाडौं । सिमेन्ट उद्योगीहरुले अनुमतिपत्रमा तोकिएको परिमाणभन्दा बढी चुनढुंगा उत्खनन नगरेको स्पष्ट पारेका छन् । अनुमतिपत्रमा तोकिएको वार्षिक परिमाणभन्दा केही थप घट भए पनि निर्धारित समयमा कोटाभन्दा धेरै उत्खनन नगरेको उद्योगीहरुले बताएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उद्योगीहरुले उत्खनन परिमाणकै आधारमा तोकिए बमोजिमको रोयल्टी शुल्कसमेत सरकारलाई बुझाउँदै आएको जानकारी गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वटा सिमेन्ट खानी उद्योगहरुले तोकिएको परिमाणभन्दा बढी उत्खनन गरेको जिकिर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि संघको यस्तो प्रतिक्रिया आएको हो ।
प्रत्येक महिनामा उत्खनन गरे अनुसारको परिमाणको रोयल्टी शुल्क अर्को महिनाको ७ गतेभित्र नै बुझाउने व्यवस्थाअनुसार समयमै खानी तथा भूगर्भ विभाग तथा स्थानीय निकायमा बुझाउनु पर्ने रकम भुक्तानी गरिरहेको संघले स्पष्टपारेको छ ।
२०७२ को विनाशकारी भूकम्प तथा नाकाबन्दीको समयमा पुनर्निर्माण तथा अन्य विकास निर्माणका कार्यमा गति दिनका थप सिमेन्टको आवश्यकता भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाटसमेत पटक–पटक बोलाई यथासक्दो बढी उत्पादन गर्न अनुरोध गरेकै कारण उद्योगीहरुले पनि आ–आफ्नो क्षमताले भ्याएसम्म थप उत्पादन गरिरहेको जानकारी संघले गराएको छ ।
सबैजसो उद्योगले वार्षिक उत्पादन क्षमता वृद्धिका लागि सम्बन्धित विभागमा आवेदन दिइसकेको र निर्णय प्रक्रियामा रहेको संघले जनाएको छ ।
‘उद्योगहरुले सञ्चालन गरेको खानी क्षेत्रको अनुगमन सम्बन्धित निकायहरुबाट समय-समयमा हुने गरेको र सम्बन्धित निकायको कुनै पनि प्रतिवेदनमा त्यस्ता किसिमका उल्लेख्य क्षति भएको भनी नदेखिएको हुँदा कुनै आर्थिक वर्षमा केही बढी उत्खनन् हुँदैमा ठूलो प्राकृतिक स्रोतको क्षति भएको भन्न मिल्दैन’, संघले भनेको छ।
उद्योगीहरुले खानी तथा भू–गर्भ विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच थप जरिवाना लगाउने सम्वन्धमा भएको आन्तरिक छलफलको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको र संलग्नसमेत नगराइएको संघले स्पष्ट पारेको छ । यस्तो अवस्थामा बढी उत्पादनलाई क्षति भएको भन्न सकिने व्यवस्था नै नरहेको अवस्थामा अख्तियारबाट उद्योगीहरुलाई दोषी ठहराई भष्ट्राचार मुद्दा दायर गर्नु कानुनसम्मत न्यायोचित नभएको संघको जिकिर छ ।
देशमा हाल करिब ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् । तीमध्ये क्लिङ्करमा आधारित २१ वटा उद्योग छन् । यी सबै उद्योगहरुमा कुल करिब २ खर्ब रुपैयाँ स्वदेशी लगानी रहेको छ । सिमेन्ट उद्योग र यससँग सम्बन्धित रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा किरब २ लाखले रोजगारीसमेत प्राप्त गरिरहेका छन ।
हाल स्वदेशमा स्थापित सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता २ करोड ५० टन रहेको र कोभिड महामारीका कारण उद्योगहरुले आफ्नो उत्पादन क्षमताको करिब ३० प्रतिशतको हाराहारीमा मात्र उत्पादन गरिरहेको संघले जानकारी गराएको छ । वार्षिक २ खर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्नसमेत स्वदेशी उद्योगहरु सक्षम रहेका संघले जनाएको छ ।