भारतको ग्रामीण इलाकामा बस्ने श्रीकान्त बोल्ला दृष्टिविहीन युवा हुन् । यिनै युवाको जीवनमाथि छिटै फिल्म बन्दैछ । कारण ?
त्यसका लागि यो आलेख पढ्नैपर्ने हुन्छ ।
जब उनी ६ वर्षका थिए, लगातार २ वर्षसम्म दैनिक कैयौं किलोमिटर पैदल यात्रा गरी स्कुल जान्थे । आफ्ना साथीभाइको सहयोगद्वारा उनले यो यात्रा तय गर्थे । तर, उनी दृष्टिविहीन भएकै कारण कोही उनीसँग कुरा गर्न चाहँदैनथ्यो । कतिसम्म भने, गरीब, अशिक्षित परिवारमा जन्मिएका श्रीकान्तलाई उनको समाजले नै बहिष्कार गरेको थियो ।
‘मेरा बुवाआमालाई भनिएको थियो कि मैले घरको रेखदेख पनि गर्न सक्दिनँ’, उनले भने, ‘एउटा कुकुर भित्र पसिहाले पनि त्यसलाई देख्न सक्दिनँ ।’
हत्या गर्न सुझाव
३१ वर्षीय श्रीकान्त आफ्ना तीता अनुभव स्मरण गर्दै भन्छन्, ‘धेरैजसो मान्छेहरु मेरा बुवाआमालाई भेट्न आउँथे । तिनैले मेरा बुवाआमालाई सिरानीले दबाएर मेरो हत्या गर्ने सुझाव दिन्थे ।’
मान्छेहरुका कुरालाई यसै हावामा उडाइदिएर श्रीकान्तका आमाबुवाले उनलाई साथ दिए । ८ वर्ष पुग्दा उनले दृष्टिविहीन बोर्डिङमा भर्ना हुने मौका पाए । तर, यो त्यति सजिलो थिएन । आफ्नो घरबाट ४ सय किलोमिटर टाढा हैदरावाद सहर जानुपथ्र्यो ।
आमाबुवाबाट टाढा रहँदै गर्दा श्रीकान्त नयाँ व्यवस्थामा ढले । उनले पौडिन सिके । चेस खेले । क्रिकेटमा पनि हात लगाए । उनले खेल्ने क्रिकेट भिन्दै आवाज आउने बलबाट खेलिन्थ्यो । उक्त आवाजबाट दृष्टिविहीनले पनि बलको दिशा पत्ता लगाउन सक्थे । यो सब काम हात र कानको थियो ।
विज्ञान र गणित पढ्न रोक
आफ्ना इच्छा पूरा गरिरहँदा श्रीकान्त भविष्यप्रति पनि सचेत थिए । उनको सधैंको सपना इन्जिनियर बन्ने थियो । र, त्यसका लागि विज्ञान र गणित पढ्नुपर्छ भन्ने पनि थाहा थियो ।
उनले हिम्मत हारेनन् । कठिन मानिएका यी दुवै विषय उनले पढ्ने अठोट गरे । दुर्भाग्य ! अवैध बताउँदै निषेध गरियो । उनले पढ्ने स्कुल भारतको आन्ध्र प्रदेश शिक्षा बोर्डअन्तर्गत थियो । त्यहाँको नियमानुसार दृष्टिविहीनले विज्ञान र गणित विषयको अध्ययन गर्ने अनुमति थिएन् ।
यो नियम यसकारण थियो ताकि ग्राफ र डायग्रामजस्ता चिजका कारण दृष्टिविहीनका लागि चुनौतीपूर्ण मानिन्थ्यो । बरु यसको सट्टा उनीहरुले सोसल साइन्स, कला, भाषा र साहित्यको अध्ययन गर्न सक्थे ।
नियमविरुद्ध हाइकोर्टसम्म
दृष्टिविहीनले पढ्न नपाउने यस्तो नियमसँग उनी आजित थिए । उनका एक जना शिक्षक पनि यो नियसँग त्यति खुसी थिएनन् । उनै शिक्षकले श्रीकान्तलाई प्रोत्साहित गरे र निययविरुद्ध कदम उठान सुझाए ।सुरुमा त उनीहरु आन्ध्र प्रदेश माध्यमिक शिक्षा बोर्ड पुगे । तर, त्यहाँ केही गर्न नसकिने बताइयो ।
यही बीचमा उनीहरुको भेट एक जना कानुन व्यवसायी (वकिल) सँग भयो । त्यसपछि स्कुल प्रबन्धक टिमको सहयोगमा दुवैले आन्ध्र प्रदेश हाइकोर्टमा मुद्दा दायर गरे । त्यसमा दृष्टिविहीन छात्रले गणित र विज्ञान पढ्न पाउने शैक्षिक कानुनमा परिवर्तन ल्याउन अपिल गरिएको थियो ।
मुद्दा अघि बढिरहँदा श्रीकान्तले एउटा खबर सुने । हैदरावादको चिन्मय विद्यालयले दृष्टिविहीन छात्रलाई पनि विज्ञान र गणित पढाउने जनाएको थियो । यो स्कुल उनका लागि एउटा सानदार मौका थियो । र, उनी त्यहाँ भर्ना पनि भए ।
‘उनीहरुले मलाई मनैदेखि स्कुलमा स्वागत गरे’, आफ्नो कक्षामा एक मात्र दृष्टिविहीन विद्यार्थी रहेका श्रीकान्त भन्छन्, ‘मलाई सहयोग गर्न हरदम कोसिस गरे । टेक्टाइल डायग्राम बनाउन पनि सिकाए ।’६ महिनापछि कोर्टबाट उनले मुद्दा जितेको खबर आयो ।अदालतले दृष्टिविहीन छात्रले पनि आन्ध्र प्रदेश राज्य बोर्डका सबै स्कुलमा विज्ञान र गणित पढ्न सक्छन् ।
अदालतको यो फैसलापछि उनी राज्य स्कुलमा फर्किए । र, अध्ययन गर्न थाले । परीक्षामा उनले ९८ प्रतिशत अंक ल्याएका थिए ।
अब उनको योजना भनेको भारतको प्रतिष्ठित इन्जिनियरिङ कलेज इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मा आवेदन दिने थियो ।
आईआईटीका लागि कडा प्रतिस्पर्धा थियो । त्यहाँको प्रवेश परीक्षा पास गर्नका लागि प्रायः विद्यार्थीहरुले कोचिङ क्लास लिन्थे । तर, श्रीकान्तलाई कसैले लिन चाहँदैनथे ।
आईआईटी छाडेर अमेरिकी विश्वविद्यालयमा आवेदन
श्रीकान्तका अनुसार कोचिङ सेन्टरहरुले उनलाई कोर्सको भार थेग्न नसक्ने बताए । उनीहरुलाई लाग्यो कि श्रीकान्त शैक्षिक रुपमा ‘फिट’ हुँदैनन् । ‘तर, मलाई कुनै गुनासो छैन’, उनी भन्छन्, ‘यदि आईआईटीले मलाई भर्ना लिँदैन भने मलाई पनि त्यो संस्था चाहिँदैन ।’
यसकै कारण उनले अमेरिकी विश्वविद्यालयमा आवेदन दिए । त्यसमा उनले ५ वटा प्रस्ताव प्राप्त गरे । प्रस्तावअन्तर्गत उनले म्यासाचुसेट्सको क्याम्ब्रिजको एमआईटी छनौट गरे । सन् २००९ मा उनी त्यहाँ पुगे र पढाइमा लागे ।
‘एमआईटीमा बिताएको समय मेरो जीवनको सबैभन्दा प्रिय पलमध्येको एक हो’, श्रीकान्त भन्छन्, ‘पढाइको रुपमा त्यो निकै कठिन थियो । तर, विश्वविद्यालयले मलाई त्यहाँ बस्न र प्रतिभालाई निखार्न सहयोग गर्यो ।’
पढाइ गर्दै गर्दा उनले हैदरावादमा अपांग युवालाई प्रशिक्षित एवम् शिक्षित गर्न एउटा गैरनाफामूलक संस्था सुरु गरे । त्यसको नाम थियो, समन्वय सेन्टर फर चिल्ड्रन विथ मल्टिपल डिसेबिलिटी । साथै हैदरावादमा एउटा ब्रेल लाइब्रेरी पनि खोले ।
यही बीचमा एमआईटीबाट म्यानेजमेन्ट साइन्स अध्ययन गरेपछि जागिर गर्ने थुप्रै अफर आए । तर, उनले अमेरिकामा नबस्ने फैसला गरे । उनलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो ।
अपांगलाई जागिर दिने कम्पनी
‘मैले जीवनमा हरेक चिजका लागि संघर्ष गर्नुपर्यो’, उनी भन्छन्, ‘मझैं अरु सबै संघर्ष गर्न सक्दैनन् । मेराजस्ता गुरु सबैले नपाउन पनि सक्छन् । अपांगलाई पढाइपछि जागिरको विकल्प नभएसम्म शिक्षा व्यवस्थासँग लड्नुको तुक छैन ।’
श्रीकान्तले सन् २०१२ मा हैदरावाद फर्किए । र, सुरु गरे बोलेन्ट इन्डस्ट्रिज । यो प्याकेजिङ कम्पनीले पर्यावरणमैत्री (इको फ्रेन्डली) सामान निर्माण गर्छ ।
यति बेला यसको कुल पुँजी ७ अर्ब ७२ करोड रुपैयाँबराबरको छ । यो कम्पनीमा काम गर्ने धेरैजसो अपांगहरु छन् । गत वर्ष, ३० वर्षको उमेर श्रीकान्त वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर्स–२०२१ को सूचीमा सूचिकृत भए ।
‘जब म कसैसँग भेट्दा मान्छेहरु सोच्छन्, अरे यो त अन्धो हो, कति दुःख पायो होला’, श्रीकान्त भन्छन्, ‘तर, म के हुँ भन्ने उनीहरुलाई बताउँछु । किनकि सबैकुरा परिवर्तन हुन्छ ।’
बीबीसीबाट ।