खोटाङ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैंचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएकामा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैंची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।
कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैंची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका हुन् ।
विगतका वर्षमा ३ हजारदेखि ३५ सय प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैंची अहिले ८७५ देखि १ हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ ।
मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैंंँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा अलैंची खेतीका लागि उपयुक्त १४ हजार २ हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची बिक्रीबाट जिल्लामा वार्षिक ३ करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।
उत्पादित अधिकांश अलैंची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान भने अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन् । अलैंची खरिद गर्न ठेकेदार ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यवसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले वर्सेनि अलैंची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् ।
कतिपयले जग्गा भाडामा लिएरसमेत अलैंचीको व्यवसायिक खेती शुरु गरेका छन् ।
अन्नबालीका लागि दिनरात खट्नुपर्ने तर अलैचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि खोटाङका किसानहरू अलैंची खेतीप्रति आकर्षित भएका हुन् । पहिला–पहिला अलैंचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैंची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भए पनि अलैंची उत्पादन गर्यो । तर, यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन् ।