काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साताको अन्तिम दिन बिहीबार ४ दिनको घट्दो ट्रेन्डलाई ब्रेक गरी सकारात्मक सन्देश दिन खोजको छ ।
बिहीबार तीव्र उतारचढाव कायम राख्दै अन्तिम समयमा बुधबारको तुलनामा ३.२९ अंकले बढेर २७७९.९३ अंकले बढेको छ । यद्यपि, यो बढा आशा जगाउने माध्यम भए पनि निरन्तरता पाउन कठिन छ ।
सेयर बजार घट्ने कि बढ्ने भन्ने अन्यौलता रहिरहँदा कारोबार रकम भने न्यून बिन्दुतिर खुम्चिँदै गएको छ । बिहीबार ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । जुन रकम काराेबार भएकाे २१ दिनमध्येकै न्यून हो । यसअघि पुस १३ मा ३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
गत सोमबार करिब १०० अंकले बजार सूचक घटेका दिन ८ अर्ब ८४ करोड भएको थियो । तर, त्यसपछिका तीनै दिन निरन्तर घट्दोक्रममै देखियो ।
बुधबार २७७६ मा रोकिएको सूचक कारोबार खुलेको केही समयमै २८०० सम्म चढेको थियो । लगत्तै घट्न थालेको बजारले १ घण्टामा २७७९ सम्म झरेको थियो । त्यसपछि फेरि उठेको बजारले २८०४ सम्मको उचाइ लिए पनि त्यसले निरन्तरता पाउन सकेन । जुन रूपमा बढेको थियो, त्यसको विस्तारित रूपमा बजार घट्न थाल्यो । यसबीचमा बढ्ने र घट्ने सामान्य प्रक्रिया अपनाए पनि कारोबार बन्द हुनु ७ मिनेटअघि बिहीबारकै न्यून २७७६ सम्म सूचक झार्यो र अन्तिम मिनेटमा सामान्य वृद्धिको संकेत गर्यो ।
बिहीबार ९० कम्पनीको सेयर मूल्य बढ्दा सूचक उकालो लाग्न सहयोगी भयो । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको सकारात्मक सर्किट लागेर कारोबार हुँदा सीइडीबी हाइड्रो कम्पनीको मूल्य ८.७२ प्रतिशतले बढ्यो ।
उता बजार घटाउन ८६ कम्पनीले भरमग्दुर कोसिस जारी राख्दा बजारलाई माथि चढ्न दिएन । यद्यपि, सबैभन्दा बढी मूल्य घट्ने सप्तकोसी डेभलपमेन्टको मूल्य ४.१४ प्रतिशतले घटेको छ ।
२० प्रतिशत लाभांश घोषणा गरेको नेसनल लाइफ इन्स्योरेन्समा लगानीकर्ता झुमिएका छन् । जसको २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबारको कारोबार प्रवृत्ति, लगानीकर्तामा देखिएको पर्ख र हेरको रणनीतिको प्रभाव, वित्तीय बजारमा तरलता अभावको अवस्था, स्थानीय तहको निर्वाचन हुने नहुने अन्यौलताजस्ता तत्कालीक कारणहरूले सेयर बजारलाई अझ तल लैजाने संकेत गर्दछ । लगानीकर्ताहरूले सुझबुझपूर्ण क्षमता प्रदर्शन नगरे र आत्तिने प्रवृत्ति देखाए बजार झनै घट्न सक्छ ।
२२५९ बिन्दुबाट उचालिएको बजारमा अझै पनि नाफा बुक गर्ने प्रवृत्ति हाबी भएको छ। त्यसले बजारलाई थप प्रभावित बनाउँछ ।