एजेन्सी । भारत सरकारले भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार विधेयकलाई संसदमा नलैजाने भएको छ । क्रिप्टो कारोबार जटिल विषय भएको र यसको अध्ययन र छलफलका लागि थप समय लाग्ने भन्दै सरकारी अधिकारीहरुले विधेयक संसदमा लैजान रोकेका छन् ।
आउँदो संसदको बैठकमा क्रिप्टो कारोबार विधेयक पेश नहुने भएको छ । यसअघि क्रिप्टोकरेन्सी कारोबार विधेयक आउँदो संसद अधिवेशनमा पेश गर्ने तयारी सरकारको थियो । नरेन्द्र मोदी सरकारले आर्थिक वर्ष सन् २०२२ का लागि बजेट ल्याउने तयारी गरेको छ ।
नयाँ आर्थिक वर्ष मार्च १ देखि लागू हुन्छ । क्रिप्टो कारोबार विधेयकको विषयमा सरकारले बढी छलफलका साथै समझदारी आवश्यक भएको बताएको दि इकोनोमिक टाइम्सले जनाएको छ । अहिले सरकारले यस विषयमा थप गृहकार्य गरिरहेको बताइएको छ ।
रिजर्व बैंक अफ इन्डिया (आरबीआई)बाट क्रिप्टो कारोबारको विषयमा सरकारले सल्लाह लिने भएको छ । केन्द्रीय बैंक आरबीआईले क्रिप्टो करेन्सी कारोबारलाई पूर्ण रुपमा बन्देज लगाउनु पर्ने आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । देशकै वित्तीय प्रणालीमा ठूलो समस्या ल्याउने भन्दै आरबीआई कारोबार खुलाउनु नहुने पक्षमा रहेको छ ।
यस्तै प्रधानमन्त्री मोदीले क्रिप्टो करेन्सी कारोबारले विश्वमै चुनौती थपिएको बताएका छन् । जनवरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा सबै निजी क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाउने बुँदा थियो । हालैका महिनामा भारत सरकारले क्रिप्टोकरेन्सीलाई मुद्राका रूपमा भन्दा पनि नियमबद्ध सम्पत्तिको रूपमा हेर्ने अपेक्षा गरिएको थियो ।
सन् २०२० को मार्चमा भारतीको सर्वोच्च अदालतले क्रिप्टोकरेन्सी कारोबारमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध उल्ट्याएको थियो । गभर्नर शक्तिकान्त दासले ब्लकचेन प्रविधि क्रिप्टोकरेन्सीबिना वित्तीय क्षेत्रको विकास हुन सक्ने बताउँदै आर्थिक स्थायित्वलाई लिएर केन्द्रीय बैंकको गम्भीर चिन्ता रहेको बताएका थिए ।
भारतमा १ करोड ५० लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबारी छन् । भारतको क्रिप्टो उद्योगले आउँदो बजेटमा करका विषयमा स्पष्टता खोजेको छ । ठूलो रकम कर छली गरेको भेटेपछि जीएटी इन्टेलिजन्स निर्देशानालयले मुख्य क्रिप्टो एक्सचेन्जमा हालै छापा मारेको थियो ।
अहिले चीन, भारत इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशमा क्रिप्टोकरेन्सी पूर्णरुपमा प्रतिबन्धित छ। छिमेकी चीनले पनि सेप्टेम्बरमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भनेको डिजिटल अर्थात भर्चुअल मुद्रा हो । यसको अस्तित्व सन् २००९ देखि आएको हो । भौतिक रूपमा देख्न वा छुन नसके पनि बजारमा यसको मूल्य तोकिएको हुन्छ ।
क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छ । भर्चुअल कारोबार हुने भएकाले यसलाई नियमन गर्ने कुनै निकाय हुँदैन । कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुने गरेको पाइएको छ ।
क्रिप्टोकरेन्सीको केन्द्रीय बैंक हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ । यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ । संसारभरी क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानीका साथै कम्प्युटर तथा मोबाइल फोनमार्फत डिजिटल वालेटमा राख्न सकिन्छ ।
यो पनि हेर्नुहोस
क्रिप्टो कारोबारमा प्रयोग हुने ३० थान डिभाइस विमानस्थलबाट बरामद, हङकङबाट भित्रिँदै थिए नेपाल
बैंकिङ प्रणालीमार्फत नै क्रिप्टोकरेन्सीमा लगानी बढ्दै, अनुसन्धानमा बैंकहरुकै असहयोग