काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित ९ उद्योगपतिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खानी तथा भूगर्भ विभागबाट अनुमतिपत्र लिएको भन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुरारकासहित उद्योगीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो ।
अख्तियारले सिद्धार्थ मिनरलका सञ्चालक पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका सरद गोयल, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, उदयपुर मिनरलका प्रवलजंग पाण्डे युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चन क्वेरिजका भीमबहादुर थापा र डोलमाइन्ट चुनढुंगाका मानबहादुर श्रेष्ठसहित ९ जना कर्मचारीविरुद्ध १ अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
९ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको परिणामभन्दा बढी चुनढुंगा निकालेकोमा छानविन समितिको प्रतिवेदनले तोकेअनुसार क्षतिपूर्ति नलिइ राजस्वमा घाटा गराई भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।
सरकारलाई राजस्व हानी नोक्सानी हुने र निजी उद्योग कम्पनीहरुलाई फाइदा पुग्ने गरी दोश्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ को लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा उत्खननरउत्पादन गर्ने ९ वटा कम्पनीबाट वार्षिक प्रति आर्थिक वर्ष १/१ लाख रूपैंयाका दरले जरिबाना लिने गरी उनले विभागीय निर्णय गरेको जिकिर अख्तियारको छ ।
विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी, भूगर्भविद् डा. सौनक भण्डारीविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो ।