काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण यही हप्तादेखि सुरु हुने भएको छ । गत असारमा बाढीले क्षति पुगेको आयोजनाको पुनर्निर्माण साढे ७ महिनापछि सुरु हुन लागेको हो ।
यसअघि आयोजनाको निर्माण गरेको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले नै मेलम्चीको पुनर्निर्माण गर्ने भएको छ । अहिले सिनोले पुनर्निर्माण कार्य सञ्चालनको तयारीका लागि आवश्यक सामाग्री आयोजना स्थलमा पुर्याउने काम गरी रहेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख वासुदेव पौडेलले बताए । उनका अनुसार कामदार तथा कर्मचारी बस्नका लागि आवश्यक व्यवस्था पनि सिनोले मिलाइरहेको छ ।
‘अस्थायी रूपमा काम गर्नको लागि ठेकेदार परिचालन हुँदैछ । उसले त्यहाँ बस्नेलगायत आवश्य उपकरणहरूको व्यवस्था गर्दै छ’, आयोजना प्रमुख पौडेल भन्छन्, ‘सिनो आयोजनास्थलमा आवश्य निर्माण उपकरण लैजाने क्रममा छ । अबको एक/दुई दिनमा काम सुरु गर्छ ।’
सिनोको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । मेलम्चीको पुनर्निर्माणका लागि सिनोको म्याद थप गरिएको हो । सिनो हाइड्रोले यसअघि आयोजनाको सुरुङ र हेडवक्स निर्माण गरेको थियो । त्यसमध्ये सुरुङको म्याद अघिल्लो वर्ष नै सकिएको थियो भने हेडवक्स निर्माणको म्याद गत अगस्टमा सकिएको हो । यसअघि सिनोको म्याद थप नहुँदा पुनर्निर्माण कार्य सञ्चालनमा गर्न समस्या भएको तथा अध्ययनको काम अघि नबढेको र क्षतिको यकिन विवरण आउन नसकेको आयोजनाले जनाएको थियो ।
सार्वजनिक खरिद ऐनअनुसार ५० प्रतिशतभन्दा बढी म्याद थप गर्नुपरेमा मन्त्रिपरिषद्ले मात्रै निर्णय गर्न सक्ने उल्लेख छ । सोहीअनुसार खानेपानी मन्त्रालयले पुसको पहिलो हप्ता सिनो हाइड्रोको म्याद थपका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । पुस अन्तिम हप्ता मन्त्रिपरिषदको निर्णयले सिनोको म्याद असार मसान्तसम्म थप गरेको आयोजना प्रमुख पौडेलले बताए ।
प्रतिस्थापन बजेटमार्फत सरकारले मेलम्चीको पुनर्निर्माण गर्न १ अर्ब रुपैयाँ बिनियोजन गरी सकेको छ । उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने आयोजनाले जनाएको छ । सिनोसँग थप काम (भेरियसन) लागिएकाले पुनः निर्माणको लागत रकम भने अहिले निश्चित नभएको आयोजना प्रमुख पौडेलल जानकारी गराए ।
खानेपानी आयोजनाका विभिन्न संरचनाहरूमा गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको लेदोसहितको बाढीले पुरिएका छन् । बाढीले आयोजना स्थलमा ल्याएको गेग्रान नपन्साउँदा क्षतिको यकिन विवरण हालसम्म पनि प्राप्त हुन सकेको छैन ।
सरकारले पटक–पटक उपत्यकामा मेलम्चीको पानी अस्थायी रूपमा चैत मसान्तसम्म ल्याउने घोषणा गर्दै आएको छ । गत शुक्रबार मात्रै पनि प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै यो वर्षभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने बताएका छन् ।
उक्त घोषणाअनुसार अबको साढे २ महिनामा पुनर्निर्माण सम्पन्न गरिसक्न आयोजनालाई चुनौती छ । तर, हालसम्म सिन्धुपाल्चाेकको हेलम्बु गाउँपालिकासँग मिलेर आयोजनाले अस्थायी रूपमा ८ किलोमिटर बाटो निर्माणबाहेक अरू काम गर्न सकेको छैन ।
याँग्री र लार्के अनिश्चित
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याँग्री र लार्केबाट काठमाडौं उपत्यकामा थप पानी ल्याउने सरकारको योजना छ । तर, मेलम्चीको पहिलो चरणको अम्बाथानमा बाढीले क्षति पुर्याएपछि अहिले याँग्री र लार्केको विषय अघि बढ्न नसकेको हो ।
याँग्री र लार्केमा सरकार वा एसियाली विकास बैंक (एडीबी) कसले लगानी गर्ने भन्ने विषय निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्य भने याँग्री र लार्केको अध्ययन गरेर मात्रै अघि बढ्ने बताउँछिन् ।
अम्बाथानमा जस्तो समस्या नहोस् भनेर रिभ्यु अध्ययन गर्ने तयारी रहेको उनको भनाइ छ । मेलम्ची याँग्री र लार्के खोलाबाट गरी काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने छ ।