काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहाेरो अंकले घटेर बन्द भएको छ । यो साता लागेसँगै घट्न थालेको सेयर बजार चाैथाे दिनमा पनि घटेर बन्द भएको छ ।
यद्यपि बुधबारको घटाइ सोमबारपछि ठूलो हो । गत बिहीबार २९३१ बिन्दुमा रहेको नेप्से सूचक आइतबार ११ अंक, सोमबार १०० अंक र मंगलबार ५ अंकले घटेको थियो । बुधबार भने ३८.४५ अंकले घटेर नेप्से २७७६.६१ बिन्दुमा रोकिएको छ ।
४ दिनमा १५५ अंकले सूचक ओरालो लागेको छ । खासगरी स्थानीय तह निर्वाचन हुने/नहुने अन्योल, मौद्रिक नीति समीक्षामा दबाब दिने ठूलो लगानीकर्ताको रणनीति, अपेक्षाकृत सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सकरात्मक नआउनु र फेरि तरलता अभावले वित्तीय क्षेत्र तरंगित हुनुले बजार घटाउन सहयोग गरेको छ ।
तरलता अभावकैबीच सरकारले आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेपछि तरलताको स्थितिमा थप दबाब सिर्जना हुने भएकाले बजार घटाउने मद्दत गरेको छ ।
बुधबारको कारोबार प्रवृत्ति र कारोबार रकममा देखिएको न्यूनताले बिहीबार मध्य समयसम्म बजार घट्ने र त्यसपछि केही बढ्ने आँकलन गर्न सकिन्छ । बुधबारको न्यून बिन्दुबाट केही माथि सूचक अडिएकाले पनि त्यसको संकेत गर्दछ ।
यद्यपि सीमित लगानीकर्ताहरू र विश्लेषकहरू बजार अझै घट्छ भन्ने हौवा सिर्जनामा लागेकाले त्यसको असर बिहीबारको कारोबारमा पर्ने देखिन्छ । बिहीबार पनि बजार घटेमा बजार झनै तल झर्ने आँकलन गर्न सकिन्छ ।
मंगलबार २८१५ मा रोकिएको नेप्से सूचक बिहीबार बजार खुल्दा २८१९ सम्म चढे पनि त्यसपछि बजार तीव्र गतिमा ओरालो लाग्ने ट्रेन्ड पच्छ्याएको छ । यद्यपि बीचबीचमा सम्हालिने कोसिस भने गरेको देखिन्छ ।
तर, कारोबारको डेढ घण्टामा सूचक बुधबारको न्यूनतम २७६० अंकसम्म झरेको छ । त्यसपछि बढ्ने रफ्तार लिन खोजे पनि २८०४ अंकसम्म पुगेर ओरालो झरेको बजार घटेरै बन्द भएको छ ।
बुधबार घट्दो बजारलाई १७० कम्पनीको मूल्यले साथ दिएको छ । सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा पोखरा फाइनान्सको मूल्य ५.५९ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि १८ कम्पनीको सेयर मूल्यमा भने वृद्धि आउँदा २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्यमा सकरात्मक सर्किट लाग्दा सीइडीबी हाइड्रो पावरको मूल्यमा ४.९७ प्रतिशतको वृद्धि आएको छ । उता बुधबारको कारोबार पनि यो साताकै कम भएको छ । ४ अर्ब २८ करोडको कारोबार हुँदा अपी पावर कम्पनीको सबैभन्दा बढी १६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा घट्दो कारोबार ट्रेन्डले बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको पुष्टि गर्छ । जसलाई बिहीबारको कारोबारले दिशा तय गर्ने संभावना छ ।