काठमाडौं । सरकारले देशका विभिन्न जिल्लाहरुमा औद्योगिक ग्राम निर्माण थालेको छ । ‘एक गाउँपालिका एक औद्योगिक ग्राम’ को अवधारणाअनुसार हालसम्म ९५ वटा ग्राम घोषणा भई निर्माणकाे काम अघि बढेको छ ।
स्थापना भएका औद्योगिक ग्रामका लागि सरकारले ९२ करोड विनियोजन गरे पनि पहिलो किस्ताअन्तर्गत ८ करोड ६० लाख २५ हजार रुपैयाँ पठाएको छ । हालसम्म घोषित ९५ वटा औद्योगिक ग्राममध्ये ९३ वटालाई पहिलो किस्ताबापत ९२ लाख ५० हजार रुपैयाँको दरले रकम विनियोजन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।
पहिला सरकारले एक पालिका एक औद्योगिक ग्रामको अवधारणा ल्याएको भए पनि आर्थिक वर्ष २०७६/०७७ देखि परिमार्जन गरी सम्भाव्यताका आधारमा औद्योगिक ग्रामका लागि अनुमति दिने गरिएको सचिव पोखरेलको भनाइ छ ।
औद्योगिक ग्रामका लागि सम्बन्धित ठाउँमा गएर सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता, उद्योग खोल्न सक्ने वातावरण छ वा छैन र कच्चा पदार्थको उपलब्धता कस्तो छ भन्ने अध्ययन मन्त्रालयले गर्ने गरेको छ ।
सरकारले बनाएको १५ औं योजनामा हरेक गाउँ-गाउँमा औद्योगिक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको थियो । गाउँ–गाउँमा औद्योगिक वातावरण बनाउने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष ८४ वटा घोषणा भएका र यो वर्ष थपिएका ११ गरी ९५ वटा तयार भए पनि पहिलो किस्ता भने ९३ वटाले मात्र लगेको मन्त्रालयका प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । मन्त्रालयले भने औद्योगिक ग्राम निर्माणकै लागि हालसम्म १५ करोड ३४ लाख निकासा गरिसकेको उनको भनाइ छ । कुल ९५ मध्ये २० वटाले भने दोस्रो किस्ता पनि लगिसकेका छन् ।
मन्त्रालयले घोषित औद्योगिक ग्रामको भौतिक पूर्वाधार विकासको प्रगतिको आधारमा किस्ता रकम पठाउने गरेको छ । ३ किस्ता गरी प्रत्येक औद्योगिक ग्रामले ३/३ करोड रुपैयाँ पाउने छन् ।
औद्योगिक ग्राम घोषणाका लागि स्थानीय तहबाट पेस गर्नुपर्ने कागजातहरूः
- औद्योगिक ग्राम स्थापनार्थ जग्गाका लागि त्यसको स्वामित्व, कित्ता नम्बर, क्षेत्रफल खुलेको गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णय ।
- नापी कार्यालबाट प्रस्तावित औद्योगिक ग्रामको चारकिल्ला खुलेको प्रमाणित नक्सा ।
- चारकिल्ला खुलेको सम्बन्धित वडाको पत्र ।
- हालको जग्गाको स्वामित्व तथा जग्गाको प्रकृति खुलेको सम्बन्धित मालपोत वा नापी कार्यालबाट प्रमाणित कागजात ।
- औद्योगिक ग्राममा स्थापना हुन सक्ने सम्भावित उद्योगहरु, सम्भावित लगानी, सम्भावित बजार व्यवस्था, सिर्जना हुन सक्ने सम्भावित कार्यविधि, २०७५ को अनुसूची–१ बमोजिमको परीक्षण सूची तथा सोअनुसारको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन ।
- प्रदेश मन्त्रालयको सिफारिस पत्र ।