काठमाडौं । हामीले विभिन्न कम्पनीका सीईओ, एमडीबारे लामो समयदेखि सुन्दै आइरहेका छौं । जुनसुकै कम्पनीमा पनि यी पदको आफ्नै मूल्य र अर्थ हुन्छ । त्यसैले यसलाई प्रतिष्ठित पदसमेत मानिन्छ । धेरैको ‘ड्रिम जब’ मा यी पद पर्छन् ।तर, सुन्दा जति भव्य सुनिन्छ, उल्लिखित पदसँग जोडिएर आउने जिम्मेवारी, भूमिका र चुनौती पनि उत्तिकै हुन्छ ।
सिंगो संस्था, कर्मचारी र संस्थागत मूल्य–मान्यतालाई सुदृढ बनाउने जिम्मेवारी एउटा सीईओको हातमा हुन्छ । यस्ता जिम्मेवारी लिएका व्यक्ति नै संस्थाको भविष्य रचयिता, रणनीतिज्ञ तथा पथप्रदर्शक मानिन्छन् । यसर्थ सीईओ नियुक्तिमा कम्पनीहरुले विशेष ध्यान दिने गरेका छन् । साथै नियुक्तिको हकमा विभिन्न मापदण्ड तथा कार्यविधिसमेत बन्दै र कार्यान्वयन हुँदै आइरहेका छन् ।
नेपालमा पनि सीईओको योग्यताका लागि आफ्नै स्थापित मापदण्डहरु छन् । विशेषगरी पाका, अनुभवी, धेरै संस्थाको कार्यअनुभव बटुलेको, विदेशी डिग्री हासिल गरेको, ठूलै दर्जाका ओहोदामा धेरै वर्ष काम गरेका लगायत यावत् मापदण्डहरु तोकिएका छन् ।
पुस्ता परिवर्तन हुँदै जाँदा क्षमताको आयाममा पनि परिवर्तन आइरहेको छ । अहिलेको समयमा संस्था हाँक्न कपाल नै फुलेको वा ६० वर्ष पुग्नैपर्छ भन्ने छैन । तन्नेरीहरुमा पनि संस्थालाई सुदृढ बनाएर नयाँ उचाइमा पुर्याउने दृष्टि र क्षमता हुन्छ ।
परम्परागत मान्यतामा आधारित यस्ता मापदण्डले नयाँ र क्षमतावान् युवाहरुलाई नेतृत्वको कुर्सीसम्म पुग्न सधैं बाटो छेकिरह्यो । तसर्थ आफ्नो भिजनलाई आफैंभित्र उकुसमुकुस पार्नुभन्दा त्यसलाई प्रयोग गरेर हेर्न कतिपय युवाहरु आफैं सीईओ बनी आफ्नै भेन्चर तथा स्टार्टअपलाई अघि बढाइरहेका छन् ।
पठाओका असिममान सिंह बस्न्यात, फुडमान्डुका मनोहर अधिकारी, सस्तो डिलका अमुन थापा, कारखानाका पवित्र गौतम, युजी केक्सका किरण तिम्सिना, माकुसेकी अनुस्का श्रेष्ठलगायत धेरै उदाहरणीय बनेका छन् । कति त अझै लड्दै, उठ्दै र भिड्दै अघि बढिरहेका छन् । तर, यही यात्रामा सोचेअनुसार गर्न नसकेकाहरु पनि प्रशस्तै छन् ।
तर, आज हामी यस्ता सीईओहरुबारे कुरा गर्दैछौं । उनीहरुले बिजनेस हाउसमा ‘स्टेरियोटाइप’ लाई तोडेर आफू र आफैंजस्ता नयाँहरुको नेतृत्व तह दाबी गरिसकेका छन् । स्थापित व्यवसायिक संस्थाहरुले पनि यीभित्रका क्षमतालाई कदर गर्दै नेतृत्व तहको जिम्मेवारी सुम्पिसकेका छन् ।
विनय खड्का, सीईओ खल्ती
देशको शीर्षस्थ विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले २ महिनाअघि विनय खड्कालाई सीईओमा नियुक्त गर्यो । खड्काको नियुक्तिसँगै यसले बिजनेस क्षेत्रमा छुट्टै तरंग पैदा गर्यो । भुक्तानी सेवा क्षेत्रका ‘कान्छा सीईओ’ समेत भनिने खड्का अहिले २७ वर्षका भए । तर, खल्तीलाई हाँक्ने उनको भिजनलाई उमेरसँग तुलना गर्न मिल्दैन ।
खल्तीमा आउनुअघि खड्काले देशकै ठूलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवामा काम गरेका थिए । यस्तै एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ विभागमा नेतृत्वदायी जिम्मेवारी सम्हालेको उनको अनुभव छ । चार्टर्ड अकाउन्टेन्सीबाट पढाइ पूरा गरेका खड्काको सोच खल्ती डिजिटल वालेटमा नवप्रवर्तनमुखी विकास र वृद्धि ल्याउने रहेको छ ।
२. आँचल कुँवर, सीईओ दराज
केही दिनअघि मात्र बहुराष्ट्रिय तथा देशकै ठूलो ई–कमर्स कम्पनी दराजले पहिलोपटक महिला सीईओ पाएको छ । नेपालको ई–बिजनेसको क्षेत्रमा यति ठूलो प्लेटफर्ममा नेतृत्व तहको जिम्मेवारी पाएकी आँचल पहिलो नेपाली महिला पनि हुन् । यसलैले यो आफैमा नयाँ र गौरवशाली कुरा पनि हो ।
दक्षिण एसिया र देशकै लिडिङ अनलाइन मार्केटप्लेस दराजको नेतृत्व सम्हाल्नुअघि उनले ५ वर्ष ४ महिना ग्लोबल ई–कमर्स प्लेटफर्म अमेजनमा विभिन्न विभाग तथा शाखाको व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेकी छिन् ।
आँचलको शैक्षिक पृष्ठभूमिको कुरा गर्दा उनले काठमाडौंको माइतीघर मण्डलास्थित सेन्ट जेभियर कलेजबाट आफ्नो माध्यमिक तह पूरा गरी सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट गणित र अर्थशास्त्रमा स्नातक र बिजनेस एडमिनिस्ट्रेसन स्ट्राटेजीमा मिनिसोटा विश्वविद्यालयबाट स्नातकोत्तर पढाइ पूरा गरेकी छिन् । हाल आँचलकै नेतृत्वमा दराज नेपालको रिब्रान्ड समेत भइरहेको छ ।
३. रोहित तिवारी, सीईओ हाम्रो बजार
फुड डेलिभरी प्लेटफर्म फुडमारियोका संस्थापक रोहित तिवारी एक उदयीमान उद्यमी र इन्जिनियर हुन् । फोब्र्स २०२० को ३० वर्षमुनिका प्रभावशाली ३० एसियाली युवाहरुको सूचीमा पर्न सफल रोहित अहिले ३१ वर्षका भए ।
२१ वर्षकै उमेरबाट उद्यमशीलताको यात्रालाई अघि बढाएका उनले सन् २०१७ सम्म विभिन्न भेन्चरहरु स्थापना गर्दै असफलता बेहोर्दै र सिक्दै गरे । २०१७ मै फुडमारियोको स्थापना गरेका हुन् । काठमाडौं उपत्यकाका भोजनप्रेमीमाझ फुडमारियोको अलग्गै छाप छ ।
गत वर्ष स्थापित व्यावसायिक संस्था एमएनएस इन्भेस्टमेन्ट ग्रुपले अर्को स्थापित अनलाइन मार्केट पोर्टल हाम्रो बजारलाई अधिग्रहरण गरेपछि रोहित तिवारी हाम्रो बजारको सीईओमा नियुक्त भए । त्यसयता अहिले उनले आफ्नै भेन्चर फुडमारियो र एमएनएस इन्भेस्टमेन्टले हस्तान्तरण गरेको जिम्मेवारी सम्हाल्दै अघि बढाइरहेका छन् ।
४. विकास नाहाटा, सीईओ आईएमई पे
विकास नाहाटा नेपालको फिनटेक क्षेत्रमा प्रतिष्ठित नाम हो । उनी विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई पे तथा आईएमई डिजिटल सोल्युसनका सीईओ हुन् । नाहाटाले आईएमई पेको नेतृत्व स्थापनाको दिनदेखि नै सम्हाल्दै आएका छन् ।
काठमाडौं विश्वविद्यालयबाट बिजनेस इन्फर्मेसन सिस्टममा स्नातक र बिजनेस एडमिनिस्ट्रेसन मार्केटिङमा स्नातकोत्तर पूरा गरेका नाहाटाले स्नातकोत्तरलगत्तै सन् २०१० मा स्ट्राटेजिक बिजनेस कन्सल्ट्यान्सीको स्थापना गरी उद्यमशीलताको क्षेत्रमा पाइला टेकेका थिए ।
त्यसपछि मलेसिया क्वालालम्पुरमा सन् २०१३ देखि रिया फाइनेन्सियलमा सेल्स तथा मार्केटिङ प्रमुखको रुपमा ३ वर्षसम्म काम गरे । अनि २०१६ मा नेपाल फर्किएर देशकै प्रतिष्ठित व्यावसायिक ग्रुप आईएमई ग्रुपमा आरएन्डडी हेडको रुपमा जोडिएका थिए । २०१९ मा आइपुग्दा आईएमई डिजिटल सोल्युसनको नेतृत्व उनको हातमा आएको छ । विकास नेपाली फिनटेक उद्योगका एक भिजनरी युवा सीईओ हुन् ।
५. सुमन रायमाझी, उपाय सिटी कार्गो
नेपालको कर्पोरेट, टेलिकम, स्टार्टअप, इक्विटी तथा वित्तीय क्षेत्रहरुमा १८ वर्षको अनुभव बटुलिसकेका सुमन रायमाझी नेपालको सफल स्टार्टअप कम्पनी उपाय सिटी कार्गोका प्रबन्ध निर्देशक हुन् ।
रायमाझी सन् २०२१ अक्टोबरमा उपाय सिटी कार्गोको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनले ३ वर्ष उपाय सिटी कार्गोको बोर्डमा बसेर काम गरिसकेका छन् ।
उपाय सिटी कार्गोको नेतृत्व सम्हाल्नुअघि उनले स्मार्ट टेलिकमको प्रमुख वित्तीय अधिकारीको नेतृत्व सम्हालिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय म्यानेजरसमेत रहिसकेका रायमाझीसँग आफ्नै विभिन्न भेन्चरसमेत स्थापना तथा सञ्चालन गरेको अनुभव छ ।
डिजिटल नेपालको लजिस्टिक ब्याकबोन बनाउन उद्यत कम्पनी उपाय सिटी कार्गो एउटा प्रविधिमा आधारित लजिस्टिक डेलिभरी प्लेटफर्म हो । उपाय सिटी कार्गो २०१८ मा एमिगो खड्का, सन्दिप सुवेदी र राहुल मल्ल ठकुरीले सहस्थापना गरेका थिए ।
६. मनोज थापा, जानकी टेक्नोलोजी
स्प्यारो एसएमएस तथा खल्तीको मातृकम्पनी जानकी टेक्नोलोजी कम्पनीको नयाँ सीईओमा हालैमात्र मनोज थापा नियुक्त भएका छन् । थापाले भारतको लब्ली प्रोफेसनल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पूरा गरेका छन् ।
थापासँग काठमाडौंको तिलगंगा आँखा अस्पतालमा नेपाल आँखा कार्यक्रमअन्तर्गत बजार प्रबन्धकका रुपमा तीन वर्ष काम गरेको अनुभव छ । यसबाहेक उनीसँग चार वर्षसम्म आफ्नै भेन्चरमा समेत काम गरेको अनुभव छ । उनले बेन्टरे नामको आफ्नै सफ्टवेयर कम्पनी, पकेट्स सप नेपाल नामको स्टार्टअप भेन्चर स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । थापाको आगमनपछि कम्पनीले नयाँ उचाइ छुने जानकी टेक्नोलोजीको अपेक्षा छ ।
७. सुवास सापकोटा, ई-सेवा
देशकै अग्रणी विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् सुवास सापकोटा । २०१० मा इन्स्टिच्युट अफ चार्टर्ड अकाउटेन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्सी पढाइ पूरा गरेका ३६ वर्षीय सीईओ सापकोटाले २०१४ देखि ई-सेवाको कार्यकारी जिम्मेवारी सम्हाल्दै आएका छन् ।
ई-सेवाको सीईओसँगै सुवास सापकोटा मातृ कम्पनी एफवान सफ्टको निर्देशक भूमिकामा समेत छन् । सापकोटाको नेतृत्वमा ई-सेवाले हाल नेपालको कुल विद्युतीय भुक्तानी बजारको ८० प्रतिशत हिस्सा ओगटेको छ । ई-सेवामा हाल ३५० कर्मचारी कार्यरत छन् ।