काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता सेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता १ सय रूपैयाँअङ्कित मूल्यमा ८ करोड ९३ लाख २ हजार ५ सय रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से० मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । जसका लागि कम्पनीले पुस २१ मा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुकक्लोज गरेको थियो ।
जसअनुसार पुस २० सम्म कायम कम्पनीका सेयरधनीले हकप्रद सेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
सेयरधनीले नक्सालमा रहेको ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आईएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत सेयर दरखास्त फाराम बुझाउन सक्नेछन् ।
त्यस्तै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस्तै धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।
हाल २९ करोड ७६ लाख ७५ हजार रूपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासन गरी बाँडफाँडपश्चात् ३८ करोड ६९ लाख ७७ हजार ५ सय रूपैयाँ पुग्नेछ । रासस