काठमाडौं । छिमेकी राष्ट्र चीनले पर्याप्त मात्रामा आवश्यक फर्निचरहरु नदिएकै कारण दुइटा पाँचतारे होटलको काम रोकिएको छ । आउँदो वैशाख १ गतेबाट सञ्चालनमा ल्याउने तयारी भइरहेका सिद्धार्थ र बाराही ग्रुपका दुइटा पाँचतारे होटलका लागि आवश्यक फर्निचरका सामानहरु नआएकै कारण काम रोकिन पुगेको हो ।
नेपालका अधिकांश होटलले चीनबाटै फर्निचरलगायतका सामानहरु ल्याउँदै आइरहेका छन् । पछिल्लो समय चीनले नेपाललाई फर्निचरजन्य आन्तरिक सजावटका (इन्टेरियर डिजाइन) सामानहरु बेच्न प्राथमिकतामा नराख्दा होटलहरु समस्यामा परेका हुन् । चीनले नेपालभन्दा युरोप/अमेरिकालगायतका मुलुकलाई प्राथमिकतामा राख्दा यता नेपाली व्यवसायीहरु थप समस्यामा परेका हुन् ।
युरोपलगायतका अन्य मुलुकबाट फर्निचरका सामान ल्याउदा महँगो पर्ने भएकोले पनि धेरै व्यवसायीहरुले चीनको गोन्जाओबाट सामान आयात गर्ने गरेका छन् ।
तर, चीनले कोभिड–१९ पछि भने नेपालमा सामान पठाउन कडाइ गरेको छ । त्यसको प्रत्यक्ष असर निर्माणको अन्तिम चरणमा पुगेका दुइटा पाँचतारे होटलमा परेको व्यवसायीहरुको भनाइ छ ।
वैशाखदेखि सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिए पनि फर्निचरसहित आन्तरिक सजावटको सामान नपाएकै कारण ढिलाइ भएको सिद्धार्थ ग्रुपका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले बताए ।
‘पैसा तिरेर सामान ल्याउँछु भन्ने अवस्थासमेत अहिले छैन’, कार्यकारी निर्देशक न्यौपानेले भने, ‘एकपटक सामान पाउन तीन महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।’
कोभिडअघि दैनिक २०० भन्दा बढी कन्टेनरहरु चीनबाट नेपाल आउँथे । तर, अहिले मुस्किलले १० वटा मात्रै आउँछन् । यसमा सरकारले सहजीकरण गरी सहज रुपमा सामान पाउने अवस्था सिर्जना गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।
यस्तै समयमै सामान नपाउँदा निर्माण अवधि पनि लम्बिने र लागतसमेत बढ्ने कार्यकारी निर्देशक न्यौपाने बताउँछन् ।
सिद्धार्थ ग्रुपले भैरहवामा पाँचतारे होटल निर्माण गरिरहेको छ ।
बारही ग्रुपका कार्यकारी निर्देशक वैभव पौडेलले पनि फर्निचरसहितका आवश्यक सामान आउन ढिलाइ भएकै कारण पटक–पकट सञ्चालनको मिति लम्बिँदै गएको बताए । सो ग्रुपले काठमाडौंको ठमेलमा सपिङ कम्प्लेक्ससहित पाँचतारे होटल निर्माण गरिरहेको छ ।
अहिले सपिङ कम्प्लेक्सका लागि बुकिङ खुल्ला गरे पनि होटलको काम भने अझै बाँकी रहेको उनले बताए । सो होटल पनि वैशाखबाटै सञ्चालन गर्ने तयारी भइरहेको थियो । तर, सामान अभावका कारण सञ्चालन अवधि लम्बिने र लागत पनि बढ्ने उनको भनाइ छ ।
अहिले व्यवसायीहरुले चिनियाँ नाकामा ३ महिनादेखि ‘वेटिङ फी’ तिरेर कन्टेनर राख्दै आएका छन् ।
चीनको बजार अन्यभन्दा सस्तो पर्ने भएकोले धेरै होटल व्यवसायीको रोजाइमा चीन पर्ने गरेको छ । तर, कोभिडपछि चीनले केही कडाइ गरेका कारण त्यहाँबाट पर्याप्त सामान नआएको हुन सक्ने होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
कोलकाताबाट पनि सामान आउन रोकिएकाले व्यवसायीहरु समस्यामा परेका भन्दै यसको समाधानका लागि सरकारले नै पहल गरी सहजीकरण गरिदिनुपर्ने शाहको भनाइ छ ।
नेपाली व्यवसायीहरुले सबैभन्दा बढी चीनको गोन्जाओबाट सामान ल्याउने गरेका छन् । त्यहाँ मात्रै नेपाली व्यवसायीले सामान ओसारपसारका लागि २०० भन्दा बढी कम्पनीहरु खोलेका छन् ।