काठमाडौं । हुलाकी राजमार्गको काम झन्डै ४५ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा निर्माणाधीन राजमार्गको अहिलेसम्म झन्डै आधा काम सम्पन्न भएको आयोजना पक्षले जनाएको छ ।
कुल एक हजार ७९२ किमी सडकमध्ये हालसम्म २७० किमी सडक कालोपत्रे, साढे ३ किमी सडक ग्राभेल र ८० ओटा पुल निर्माण सम्पन्न भएको हुलाकी सडक निर्देशनालयका प्रमुख अशोक तिवारीले क्यापिटल नेपाललाई जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा ६० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य रहेको तिवारीले बताए । उनका अनुसार चालू आवमा सबैभन्दा बढी ३५० किमी सडक कालोपत्रे गर्ने लक्ष्य छ । १२५ किमी सडक ग्रोभेल थप गर्ने र १९ ओटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको तिवारीको भनाइ छ ।
अहिले २१९ ओटा पुलमध्ये ८० ओटा निर्माण भइसकेको, ८० ओटा ठेक्का लागिसकेको र बाँकी पुल डिजाइन स्वीकृतीको चरणमा रहेको जनाइएको छ । विगतमा आयोजना निकै सुस्त गतिमा अघि बढेका कारण पनि अपेक्षित प्रगति हासिल हुन नसकेको हो । तर, गत आव २०७५/०७६ मा भने लक्ष्यअनुसार नै भौतिक र वित्तीय प्रगति हासिल गरेको आयोजना पक्षको दाबी छ ।
पूर्व–पश्चिम सडक खण्डको झन्डै ३०० किमी सडक भारतीय निर्माण कम्पनीमार्फत निर्माण भइरहेको छ । त्यो बाहेक अहिलेसम्म मात्रै गरेर ४५ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाको जिकिर छ । हालसम्म आयोजनाको झन्डै ४२ प्रतिशत वित्तीय प्रगति अर्थात झन्डै २५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको आयोजनाले जनाएको छ ।
कहिँलेकाहीँ ठेकेदारले भुक्तानी नपाउँदा त कहिँले निर्माण सामग्री र रकम निकासामा हुने ढिलाइले आयोजना धिमा गतिमा अघि बढेको छ । अहिले आयोजना निर्माणमा वित्तीय स्रोतको कुनै समस्या नरहेको र काम तीव्रताका साथ अघि बढेको तिवारीको तर्क छ ।
उनले स्थानीय तहले ढुङ्गा, गिटी र बालुवा जस्ता उत्खनन्योग्य वस्तु ओगटेर बसेकाले त्यस्मा भने समस्या देखिएको बताए । आर्थिक वर्ष २०६६/०६७ मा निर्माण सुरु भएको हुलाकी राजमार्ग आगामी २०७९/८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।