काठमाडौं । मानव स्वास्थ्यमा ओमिक्रोन भेरियन्टको असर नगन्य मात्रामा देखिए पनि व्यवसायमा त्यसको नराम्रो प्रभाव परेको व्यापारीहरूले बताएका छन् ।
यसअघिको भेरियन्टले मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पारेको थियो । संक्रमितहरू अस्पतालसम्म पुगेका थिए । तर, ओमिक्रोनको प्रभाव त्यति ठूलो नभए पनि यसलाई अतिरञ्जित गर्दा त्यसको असर व्यापारमा देखिएको हो ।
अत्यन्तै सकसपूर्ण तरिकाबाट नयाँ सिजनका लागि सामान ल्याएका व्यापारीहरूले व्यापारमा आएको मन्दीका कारण सबै सामान गोदाममै थन्क्याएर राखेका छन् ।
‘अहिले पसल खोल्ने र बन्द गर्ने काम मात्रै भइरहेको छ’, साना तथा मझौला व्यापारीहरूको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, 'ओमिक्रोनको त्रासबाट मान्छे निस्किएकै छैनन् ।'
छिटफुट रूपमा निस्किनेहरूले पनि अनिवार्य खोप कार्ड देखाएपछि मात्रै मल तथा पसलमा छिर्न पाउँछन् । कतिपयसँग खोप कार्ड नै छैन । भएकाले पनि बोक्न बिर्सिएका हुन्छन् । सरकारले कोरोना नियन्त्रणको नाममा अनावश्यक झन्झट सिर्जना गरेकाले व्यापार पूरै ठप्प बनेको अवस्था छ ।
व्यापारमा देखिएको मन्दीले साना तथा मझौला व्यवसायीहरूमा त्रास उत्पन्न भएको छ । साना व्यापारीले पुस मसान्तमा सरकारलाई बुझाउनुपर्ने कर र बैंकलाई बुझाउनुपर्ने सावाँ-ब्याज जेनतेन बुझाए । तर, यही अवस्था कायम रहे आगामी चैतमा बैंकलाई ब्याज तथा सरकारलाई कर बुझाउनै नसक्ने अवस्था आउने आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे बताउँछन् ।
ओमिक्रोन संक्रमितको संख्या बढेसँगै व्यापारीहरूमा पनि त्रास बढ्दै गएको छ । साना पसल तथा सपिङ मलमा सामान किन्ने ग्राहकको संख्यासमेत कम हुँदा व्यापार घटेकाे व्यवसायी बताउँछन् । सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम लगाएपछि त्यसको सीधा असर होटल तथा सपिङ मलमा परेको पाण्डेकाे भनाइ छ ।
विगत २ वर्षदेखि पटकपटकको लामो बन्दाबन्दी र महामारीले हैरान व्यापारीहरू एकातर्फ व्यापार घट्दै गएको र अर्कातर्फ सरकारले दिनदिनै कडाइका नियम लागू गर्न थालेपछि फेरि पनि बन्दाबन्दी हुने हो कि भन्ने त्रासमा छन् ।
यसअघिकै बन्दाबन्दीको मारले कतिपय साना व्यापारीले व्यापार छाडिसकेका छन् भने बाँकी रहेकाहरूले पनि घरभाडा र बैंकको ब्याज तिर्न सकेका छैनन् । अब फेरि पनि त्यस्तै अवस्थाको आयो भने त्यसको सामाना गर्न सक्ने अवस्थामा व्यापारीहरु नरहेको उनले कटुवालले बताए ।
बरु अब स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर व्यापार व्यवसाय सुचारु गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
अधिकांश व्यवसायीले नयाँ सिजनका लागि सामान ल्याएका छन् । तर, व्यापारको अवस्था नाजुक भएकाले ती सामानलाई सोरुममा डिस्प्ले गर्नसमेत व्यापारीले जाँगर चलाएका छैनन् ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा साना तथा मझौला व्यवसायीको करीब २२ प्रतिशत योगदान रहेको छ भने १७ लाखभन्दा बढी मानिसलाई रोजगारी दिँदै आएका छन् ।