काठमाडौं । बजार विस्तारै सकारात्मक गतिमा अघि बढिरहेका बेला एकाएक बैंकमा लगानी योग्य रकमको चरम अभाव हुन थालेपछि त्यसको असर सेयर बजारमा परेको छ ।
भरखरै तरलता सुध्रिन लागेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाउन थालेको छ । त्यसको नकारात्मक असर सेयर बजारमा परेको छ । केही समयअघिदेखि सेयर बजारका लागि फेवरेवल सिचुएसन निर्माण भएको थियो । बैंकमा लगानी योग्य रकम विस्तारै बढ्दै गएको, केन्द्रीय बैंकले विभिन्न मौद्रिक औजारहरुको प्रयोग गरेर तरलता बढाउन सहयोग गरेको तथा कर्जाको ब्याजदर बढ्न नदिएको असर सेयर बजारमा परेको थियो ।
तर, अहिले सरकारले तरलता अभावका भयावह अवस्था नसुध्रिँदै आन्तरिक ऋण ४७ अर्ब ५० करोड रुपैयाँ उठाउने भएको छ । यसले एकाएक बैंकमा लगानीयोग्य रकमको अभाव भएको र त्यसैले सोमबारको सेयर बजारमा पहिरो ल्याएको आँकलन गरिएको छ ।
कतिपय लगानीकर्ताका अनुसार बजारले अब मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कुरेको हो । केन्द्रीय बैंकले माघ अन्तिम साता वा फागुन पहिलो साता समीक्षा गर्ने सम्भावना छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई अहित हुने नीति अख्तियार गरेपछि बजार निरन्तर प्यानिक अवस्थामै छ । खासगरी, केन्द्रीय बैंकले कोभिड महामारीबाट अर्थतन्त्र तङ्ग्रिनसकेको अवस्थामा कर्जा निक्षेप अनुपात (सीडी) लागू गरिदियो । त्यसले लगानी योग्य रकमको चरम अभाव भयो । बजारमा लगानी योग्य रकमको अभाव हुँदा कर्जाको ब्याजदरसमेत उचालिएर दोहोरो अंकमा पुगेको अवस्था छ । सेयर बजारमाथि जानका लागि तरलता र ब्याजरको प्रत्यक्ष सम्बन्ध हुन्छ ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा एक बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था राख्यो । त्यसले बजारको सेन्टिमेन्टमा ठूलो असर गरेको र बजार यो बीचमा २२५९ बिन्दुसम्म आइपुगेको लगानीकर्ताहरु बताउँछन् ।
सरकारले आशातित पुँजीगत खर्च गर्न पनि सकेन । सरकार आफैं गम्भीर आर्थिक संकटतर्फ धकेलिन थालेपछि आन्तरिक ऋण उठाउन थालियो । एकातिर पुस मसान्तमा सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गरे पनि त्यो सबै रकम राज्यको ढुकुटीमा बसेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ४ र १२ करोडको प्रावधान हटाउन लगानीकर्ताले माग गरिरहेका छन् । त्यसैगरी, सीडी खारेज गरेर पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी) लागू गर्न माग गरिरहेका छन् ।
केही समयसम्म आफ्नै रफ्तारमा दौडिरहेको बजारमा अनेकन फण्डा निकालेर घटाइएको छ । सरकार आफैंले सेयर बजारलाई एउटा बिन्दुभन्दा माथि जान नदिन खोजेको जस्तो देखिएको छ ।
यसअघि पनि बजार २८०० बिन्दु आएपछि घटेर २२५९ मा पुगेको थियो । अहिले पनि ३००० हजार नपुगी बजार घटेको छ । आइतबार १० अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १००.१० अंकले घटेको छ । बजारमा ठूलो पहिराे जाँदा पनि विइहान नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । बुद्धमूभि हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ ।
बजार १०० अंकले घट्दा पनि कारोबारमा तेजी देखिएको छ । आइतबार ७ अर्ब कारोबार भएकोमा सोमबार ८ अर्ब ८८ करोड रुपैयाँ कारोबार भएको छ ।