व्यावसायिक भैंसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दंग भएका छन् ।
“गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैंसी र पाँच गाईपालन गरी दूध बेचेर जीविकोपार्जन गर्दै आएका उनले भने, “अब कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ ।
कृषक पेन्सन कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको ६ महिनामा १२ जना कृषकलाई छनौट गरी जनही २ हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा चालू आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रतिकिसान २ हजारका दरले कृषक पेन्सन कार्यक्रम सुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।
कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
“गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ”, उनले भने, “परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।”
गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नम्बर ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लगाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नम्बर २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नम्बर १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेकी छिन् ।
यसैगरी पशुपालक किसानबाट २ हजार कुखुरा पालन गर्दै आएका वडा नम्बर ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैंसी पालेका वडा नम्बर ५ का वलियासार यादव र वडा नम्बर २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन् ।
वडा नम्बर५ का हरिशङ्कर मुराउ, वडा नम्बर ४ का छोटेलाल राढ र वडा नम्बर ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । रासस