काठमाडाैं । नेपाल–चीन संयुक्त लगानी रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः २०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण भएको छ ।
एयरलाइन्सलाई आईएसओेको स्तरीय व्यवस्थापन प्रणाली ९००१ः २०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो ।
एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।
यसअघि सन् २०२० मा एयरलाइन्सले जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ सेवाबापत आईएसओबाट प्रमाणीकरण हुने अवसर प्राप्त गरिसकेको थियो ।
आईएसओ ९००१ः २०१५ विश्वव्यापी रुपमा मान्यताप्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ० द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो । व्यवस्थापन प्रक्रियाका सूक्ष्म आयाम तथा मापदण्ड पूरा गर्दै हिमालयले सफलतापूर्वक परीक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवम् नियामकतासम्बन्धी महत्वपूर्ण सबै मापदण्डअनुरुप भएका प्रमाणित गर्दै एयरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको हो ।
आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले हिमालयका लागि आईएसओ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको कुरा भएको र सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताए ।
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।
एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एयरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाजसहित सातवटा गन्तव्य स्थानमा उडान गर्दै आइरहेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एयरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाजसहित सातवटा गन्तव्य स्थानमा उडान गर्दै आइरहेको छ ।
एयरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाका लागि भरेको थियो । त्यसपछि यसलाई विस्तार गर्दै युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गर्दै आएको छ । पछिल्लो समयमा हिमालयले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ ।