काठमाडौं । नेपालमा भर्चुअल बैंकिङ प्रणाली सञ्चालनमा ल्याउनेमा एनआईसी एसिया पहिलो बैंक बनेको छ । ‘एनआईसी एसिया आईसर्भ डिजिटल सेवा’मार्फत बैंकका सम्पूर्ण सेवा सुविधा अनलाइनमार्फत नै प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकले ‘डिजिटल फष्ट’ बन्ने रणनीतिअनुरुप ‘आइसर्भ डिजिटल सेवा’ सञ्चालनमा ल्याएको हो । यस सेवाको प्रयोग गर्ने ग्राहकले निक्षेप तथा चेक जम्मा गर्न बैंक शाखासम्म पुगेर भौतिक फारम भर्ने झन्झटको अन्त्य गरिदिएको छ ।
बैंकिङ सेवा उपभोग गर्न मिल्ने गरी ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाइएको छ । यस प्लेटफर्ममार्फत ४ विधामा २० बैंकिङ सुविधा सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।
आइसर्भमार्फत सेवाग्राहीले नयाँ आवेदन दिन, अनब्लक, ब्लक तथा पिन पासवर्ड रिसेट गर्न, ग्राहकसम्बन्धी सेवाहरू ब्यालेन्सको जानकारी, चेक बुक, ब्यालेन्स सर्टिफिकेट, एकाउन्ट स्टेटमेन्ट, मर्चेन्ट, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन, चेक भुक्तानी रद्द गर्ने सुविधा प्राप्त गर्न सक्ने बैंककले जनाएको छ ।
यसैगरी टेलर सेवाहरु ( नगद तथा चेक तथा भौचर भर्ने ) र कार्ड सम्बन्धी सेवाहरू ( ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविट कार्ड परिवर्तन आवेदन, इन्स्टा बाई) लगायतका सेवा यस भर्चुअल बैंक प्रणालीमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
कोभिड-१९ बढ्दो संक्रमणलाई ध्यानमा राखी बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीहरु सकेसम्म बैंकसम्म पुग्न नपरोस् भन्ने लक्ष्य बैंकले लिएको छ । अधिकांश बैंकिङ सेवा सुविधाहरुलाई आइसर्भ भर्चुअल बैंकिङ प्रणालीमा उपलव्ध भएकाले सीमित कामबाहेक सेवाग्राही बैंकमा जानुनपर्ने बैंकका नायव प्रमुख सुचना अधिकारी अर्जुन खनियाँले बताउँछन् ।
‘बैंकका सेवाग्राहीहरु हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको डिजिटल सेवामार्फत विभिन्न सेवा लिन सकिने व्यवस्था मिलाएको हो’, उनले भने ‘हाम्रो डिजिट बैंकिङ सेवालाई अझै परिष्कृतरुपमा विकास गरी एउटै प्लाटफर्ममार्फत उपलब्ध गराउन बैंकले आइसर्भ भर्चुअल प्रणालीको विकास गरेको हो ।’