काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन देखिएको छ । गत साताको बिहीबार ३२ अंकले बढेको सेयर बजार आइतबार १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा रोकिएको हो ।
कारोबार अवधिभर सेयर खरिदकर्ताभन्दा बिक्रीकर्ता हावी हुँदा बजारमा सामान्य गिरावट आएको छ । २२५९ अंकमा नेप्से आउँदा सेयर किनेका लगानीकर्ताहरुले यो बीचमा राम्रो नाफा आर्जन गरेकाले उनीहरुले नाफा बुक गर्दा बजारमा त्यसको प्रभाव परेको हो ।
बजार सूचक १० अंकले घट्दा पनि कारोबार रकममा पनि उल्लेखीय वृद्धि भएको छ । गत बिहीबार ५ अर्ब ७७ करोड कारोबार भएकोमा आइतबार ७ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो ।
आइतबार नेप्से २९ सय विन्दुमाथि नै अडिएको छ । समग्रमा हेर्दा बजारले माथितिरकै यात्रा तय गर्न खोजे जस्तो देखिन्छ । पछिल्ला दिनहरुमा बजारमा सानातिना मात्र करेक्सन आइरहेको छ ।
यसअघि छोटो समयमा अस्वभाविक रूपमा गिरावट आएकाले मूल्य सस्तो भएको थियो । पछिल्ला दिनहरुमा चालिएका सकारात्मक नीतिगत विषयले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको छ । यस्तै, कोरोना संक्रमण चुलिँदै जाँदा लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा देखिन थालेको अनुमान गरिएको छ ।
बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताहरूले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धाको अवस्थाका बारेमा पनि अध्ययन गर्न आवश्यक छ ।
घट्दो बजारमा पनि आइतबार विइयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यसैगरी बुद्धभूमि हाइड्रो पावरको पनि सर्किट लेभलमै कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यसको ३२ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।